पत्रकार भण्डारीको गिरफ्तारीमा गृहमन्त्रीको चासो, रिहा हूँदै

काठमाडौं, पत्रकार खेम भण्डारी र गणेश भट्टलाई कञ्चनपुर जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको घटनामा गृहमन्त्री विशेष चासो लिएका छन् ।
गृहमन्त्री शर्माले हिजो शनिबार आइजिपीलाई यसबारेमा तत्काल जानकारी माग गरेको गृह सचिवालयले जनाएको छ ।

गृहमन्त्री सचिवालयका अनुसार, मन्त्री शर्माले आइजिपीसँग कुरा गर्दै “पत्रकारलाई के कति कारणले पक्राउ गर्नुपर्यो ? घटनाको वास्तविकता के हो ? तत्काल बुझेर रिहाईको प्रक्रिया शुरु गर्न” निर्देशन दिएका थिए ।

शनिबार भण्डारी रिहा नभएपछि शर्माले आइतबार समेत सुरक्षा निकायलाई भण्डारी र भट्टलाई रिहा गर्न निर्देशन दिएका हुन । सचिवालयले दिएको जानकारी अनुसार, भण्डारी र भट्टलाई आजै रिहा गरिनेछ ।

जिल्ला प्रहरी कार्यालयले पत्रकारहरुले समाचार लेखेको कारण चरित्र हत्या भएको भन्दै किटानी जाहेरी परेका कारण पक्राउ गरिएको जवाफ गृह मन्त्रालयलाई दिएको छ । मन्त्री शर्माले भने पत्रकारले कानुनविपरित काम गरेको भए त्यसका लागि कार्वाहीको प्रक्रिया कानुनले व्यवस्था गरेको भएपनि समाचारकक्षमा नै गएर गिरफ्तार गरिनु गलत भएकोले तत्काल रिहा गर्न निर्देशन दिएका हुन ।

भण्डारीको रिहाईका लागि नेपाल पत्रकार महासंघले समेत गृहमन्त्रीलाई ध्यानाकर्षण गराएको थियो । कंचनपुरका संचारकर्मीहरूले रिहाईको माँग गर्दै ज़िल्ला प्रशासन कार्यालयमा धर्ना दिएका थिए ।

बसपार्कमा होटल व्यवसाय गरिरहेका दुई जना महिलाका विषयमा प्रकाशित समाचारले चरित्र हत्या भएको भन्दै महिलाका बुवाले जाहेरी दिएको प्रहरीको दावी छ । केही दिन अघि भण्डारी सम्पादक रहेको मानसखण्डले कञ्चनपुरका जिल्ला प्रहरी प्रमुख चन्दले ती दुई महिलालाई अपहरणको शैलीमा पक्राउ गरि हिरासतमा लिएको समाचार प्रकाशन गरेको थियो ।

 

कमेन्ट गर्नुहोस्