माओवादी केन्द्रबाट ७१ वर्षीय धिमालको उम्मेदवारी

विराटनगर : उमेरले ७१ वर्षे कानेपोखरी–६ का सूर्य धिमालले आइतबार कानेपोखरी गाउँपालिका अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन्।

दिउँसो २ बजेतिर आफ्नो समूहसहित गाउँपालिका निर्वाचन अधिकृतको कार्यालय पुगेका उनले माओवादी केन्द्रको तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन्। केही हप्तायता धिमालको दैनिकी फेरिएको छ । सँधै घर तथा सामाजिक कार्यमा सक्रिय उनी यतिबेला भने बिहानै उठ्छन्, सामान्य नित्यकर्म गर्छन् र सुरु हुन्छ चुनावी अभियान। उमेर ७१ वर्षे भएपनि जोश र जाँगर युवाको भन्दा कम छैन। चुनावी अभियान बेहुलाको जन्ती गएजस्तो तामझाम छ। तिनै धिमालको अघि पछि १ सय भन्दामाथिको लर्को चुनावी अभियानमा दौडिरहेका छन्।

पेशाले अमिनको काम गर्ने धिमाल यस अघिका पनि जनप्रतिनिधि हुन्। उनी २०३९ सालमा बयरवन गाउँ विकास समितिको तत्कालिन वडा नम्बर ७ को वडा अध्यक्ष भएका थिए। खेलकुद क्षेत्रमा पनि उत्तिकै सक्रिय उनी २०४३ सालमा भएको निर्वाचनमा बयरबन गाविसको उपप्रधानपञ्चमा अत्याधिक मत ल्याएर निर्वाचित भए। धेरैले धिमालको उमेर र योजनाको तालमेल मिल्दैन भन्छन्। उमेर धेरै भइसक्यो, हिंड्डुल गर्न समस्या हुँदैन भन्ने प्रश्नमा उनले भने, ‘मलाई यहाँका युवाले भेट्टाउँदैनन्।’ काम गर्ने योजना पनि उनको सिर्जनशील खालका छन्। तर, आश्वासन झुठा नबाँडिएको उनले बताए। ‘जनतालाई व्यावहारिक पक्षलाई हेरेर निर्वाचनमा एजेण्डा र आश्वासन दिने हो, झुटो आश्वासन दिने होइन,’ धिमालले भने, ‘राजनीतिक संस्कारलाई आघात पुग्ने गरी झुटा आश्वासन बाँडेको छैन, जनतासँग काम गर्न सक्ने एजेण्डा प्रस्तुत गरेको छु।’ यसअघि पनि जनप्रतिनिधि हुँदा इमान्दारीतापूर्वक काम गरेका कारण आफूले जित्ने उनको दाबी छ। ‘मसँग पर्याप्त अनुभव छ,’ उनले भने, ‘यहाँको समस्या के छ र समाधान कसरी गर्ने भन्ने विषयमा स्पष्ट दृष्टिकोण छ।’ उनले कानेपोखरी गाउँपालिकामा रहेका पूर्वको डाँसखोला र पश्चिमको चिसाङ खोलालाई नियन्त्रण गर्ने योजना सुनाए।

थाहाख़बरबाट

कमेन्ट गर्नुहोस्