कविता: हत्केलाले छेकिएको वर्तमान

ब्यवस्था, जनता र देश खोज्न

अनन्त यात्रामा निस्किएका यात्रीहरुले
उकालीमा उब्जाएका पसिना मुछेर
ओरालीमा उछिट्टिँदा
पोखिएका रगतका छिटाहरु मुछेर
ढुङ्गाका, स्कुलका भित्ताहरुमा कोरेका थिए नाराहरु
संघिय गणतन्त्र नेपाल जिन्दावाद ।

परायाको गुलियो तीर घाँटीसम्म बोकेर
स्वाभिमानको लिलाम गरी फर्कदै गरेका राष्ट्रका ठेकेदारहरुलाई
औँला ठड्याइरहेका हुन्थे
रुखका ठुटा र दशगजा आसपास छरिएका नाराहरु
राष्ट्रिय स्वाधिनताको रक्षा गरौँ ।

आफ्नो पसिना अर्काको ढुकुटीमा रुँदै थन्कँदा,
एउटा कुपोषणले अर्को कुपोषणलाई गिज्याउँदा
मुस्कान, सपनाको हैन, पानीको रंग र छुवाईले
स्वास फेर्न समेत कठिन हुँदा
पोतिएका हुन्थे अक्सिजनहरु, चेतनामा
समावेशी, समता र समानताका नाममा, अनेक रंगहरुमा
ओझेलको आधा आकास, पहिचान गुमेका भाषा, धर्म र मान्छेहरु
जङ्गलमा पड्किएको बन्दुकको आवाजले नै
जुटेका हुन् गाउँहरुमा, देशहरुमा
आवाज हराएकाहरु, सपना निमोठिएकाहरु
शाहस रित्तिएकाहरु, खुट्टा कुँजिएकाहरु
ठुलो ठुलो स्वर गर्दै दगुर्दै पुगेका हुन् देशसम्म

आकास, जुन र ताराहरुले नियालेर पढेका हुन् दस्तावेजहरु
पहाड, पर्वत, खोला र झरनाहरुले
तबमात्र बुझेका हुन् राजनीति

तबमात्र चराहरुले गाउन थालेका हुन् जनवादी गीतहरु

आज देखिँदैछ,
आयातीत चर्का स्वरहरु
स्वघोषित आमाहरुको जमात
शान्त मुद्रामा ढुङ्गा, भित्ता, चरा र झरनाहरु
अक्सिजनको अपजसमा उत्रिएका कथित पहिचानवादीहरु
स्वार्थको बन्दीमा समय
धमिला खोल्साहरुको मार्चपास
दूसित हावाहरुको नियन्त्रणमा वायुमण्डल
असली आमाको वृद्धाश्रम बसाई
भ्रमित समय, दिग्भ्रमित यथार्थ ।

धनकुटा, हालः कीर्तिपुर काठमाठौँ

कमेन्ट गर्नुहोस्