आर्थिक रुपमा समृद्ध भए भारतले गर्ने व्यवहार आफै सुल्झिन्छ : भट्टराई

काठमाडौंका मेयरको निर्णय जनताको पैसामा खुलेआम लुट

काठमाडौं, असार ९ । नयाँ शक्ति पार्टी संयोजक बाबुराम भट्टराईले भारतले गर्ने व्यवहारलाई सच्चाउनतिर भन्दा पनि मुलुकलाई आर्थिक रुपमा समृद्ध हुन जरुरी रहेको बताएका छन् ।

झापाको दमकमा संघीय समाजवादी फोरम र नयाँ शक्तिले गरेको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै डा.भट्टराईले मुलुकलाई आर्थिक रुपमा समृद्ध बनाउने मुद्दा आफूहरुसँग मात्र भएको दाबी गरेका छन् ।

उनले आर्थिक रुपमा बलियो भएपछि तेस्रो मुलुकहरुसँग मिलेर भारतले गर्दै आएको असमान व्यवहारको अन्त्य गर्नुपर्नेमा जोड दिए ।

पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले आर्थिक समृद्धिको पहिलो कदम भ्रष्टाचारलाई निर्मुल पार्नुरहेको भन्दै उनले मुलुकको कूल बजेटको ९० प्रतिशत रकम विभिन्न बहानामा राजनीतिक दलहरुले नै भ्रष्टाचार गर्दै आएको आरोप लगाए ।

त्यस्तै उनले काठमाडौंका नवनिर्वाचित मेयरले जनप्रतिनिधिले मोबाइल किन्ने र बिल पेस गरेपछि रकम दिने भनी गरेको निर्णय भ्रष्टाचारको ज्वलन्त उदाहारण भएको बताए । उनले भने, ‘काठमाडौंका मेयरले आफ्ना सबै जनप्रतिनिधिलाई मोबाइल किनेको विल पेश गरेपछि पैसा दिने निर्णय गरेका छन्, यो जनताको पैसा खुलेआम लुट्ने निर्णय हो ।’

उनले भने, ‘यस्ता निर्णयहरुले भ्रष्टाचारलाई नीतिगत रुपमै संस्थागत गर्ने प्रयास भइरहेको छ । यस्ता भ्रष्टाचारविरुद्ध लड्नुपर्छ ।’ उनले असार १४ को स्थानीय तहको चुनावबाट विकास र समृद्धिको मुद्दालाई संस्थागत गर्नुपर्नेमा जोड दिए ।

कमेन्ट गर्नुहोस्