कथा : ग्रामीण पर्यटनको !

रूद्रप्रसाद भट्टराई

गाउँसँग ग्रामीण पर्यटन जोडिएपछि थुप्रै गाउँहरु आज पर्यटकीय क्षेत्रको रुपमा परिचित हुँदै गएका छन् । सम्पूर्ण विषयले देशभित्र महत्वपूर्ण स्थान पाउँदा यो क्षेत्रपनि क्रमशः विकशित स्वरुपमा परिचित बन्दै गएको पनि छ । धेरै कथाको बीचमा आज एक कथा लेख्न मन लाग्यो ‘कथा ग्रामीण पर्यटनको’ ।

घुमेका स्थानहरुको कथा र डायरी अनेक हुन्छन् तर समग्रतालाई पर्यटनको कथा बनाउनु अत्यन्तै मुश्किल कार्य हो । सोचेँ अनि लेख्न सुरु गरेँ यो प्रकृतिको कथा बिक्छ ! बिकोस या नबिकोस सम्पूर्णताको कथा बनाउने यो प्रयासको थालनी मानौँला भनेर । कथा सुरुहुन्छ इतिहास, प्रकार, सौन्दर्यता, र जीवनस्तरको वृद्धि अनि अन्त्य हुन्छ ग्रामीण पर्यटनको प्रवद्धनमा ।

नेपालमा बढी फस्टाएको पर्यटकीय प्रकारहरूमा धार्मिक, मनोरञ्जनात्मक, प्राकृतिक, र साहसीक पर्यटन पर्दछ । त्यसमा पनि ग्रामीण पर्यटन पछिल्लो आर्थिक—सामाजिक उपार्जनको अभिन्न अँग बनेको छ । यहि पर्यटनका विभिन्न प्रकारहरूलाई चुम्न वर्षमा करिब ८ लाख माथि पर्यटकहरू देशमा भित्रिन्छन् अनि धित नमरिञ्जेल फर्किदैनन् । एकाध घटना बाहेक असुरक्षा भयो र मज्जा आएन भन्ने पर्यटकहरू खासै भटिएका छैनन् अभिलेखहरूमा । जसरी पर्यटकहरू नेपाल भित्रिएपनि फर्कने बेलामा खुसी—खुसी फर्कने प्रबृति बढ्दै गएको छ अहिले । आन्तरिक रुपमा पनि हिँड्न नचाहनेहरूपनि क्रमशः देश दौडाहामा निस्कन थालेका छन । किनकी पैसा हुँदा घुम्न नमिल्ने हुनसक्छ बरु अभावमै ऋण काढेरै भएपनि मज्जा लिउँ भन्ने शैली बाहिर त छँदैछ, पछिल्लो समय आन्तरिक रुपमा पनि यसको मात्रामा वृद्धि हुँदै गएको छ ।

रूद्रप्रसाद भट्टराई

१३ औँ शताब्दीबाट सुरुभएको पर्यटन् शब्द १९ औँ शताब्दीबाट मात्र योजनावद्ध र स्थापीत भयो । हुँदा—हुँदा ९० को दशक पछाडि त ग्रामीण जीवनस्तरमा ग्रामीण स्थान र सौन्दर्यता, परिकार र उत्पादनको सहायताले ग्रामीण जीवनस्तर अभिवृद्धि गराउने उद्धेश्यले ग्रामीण पर्यटनको स्थापना भएको पाइन्छ ।

पर्यटन क्षेत्रमा देखिएको विविधिकरण सँगै ग्रामीण पर्यटनको पनि सम्भावनाहरूमा वृद्धि हुँदै गएको छ । यसले नविन गन्तब्यहरूको पहिचान, प्रारम्भिक अध्ययनसँगै स्थानको रेखाचित्र र आयोजनाहरूमा बढवा दिएको छ । कुना काप्चाका स्थानहरूमा द्रुत्ततर रुपमा कामहरू अघि बढ्नु यसको तौलदार प्रमाण हो । अनवरत् यात्रा र अनुसन्धानको परिणाम आज ग्रामीण पर्यटन ग्रामीण विकासको सहयात्री बन्न पुगेको छ ।

ग्रामीण पर्यटन गाउँको अमिश्रित अर्थात शुद्ध पर्यटन हो जहाँ गाउँलेपन, गाउँले वातावरण, रहनसहन, शैली, क्रियाकलाप, उत्पादन र गतिविधिहरू उपलब्ध हुन्छन् । यस पर्यटनले कहिँ र कतै धित नमरेको मनलाई स्वादीलो पानी बनी प्यास मेटाउने प्रयास गरेको हुन्छ । त्यसैले त भनिन्छ जो जहाँ भएपनि जीवन ढल्कँदै जाँदा र उतरार्र्ध समयमा गाउँमै प्राणत्याग गर्ने इच्छा राखेका हुन्छन् अधिकाँशले । तसर्थ, ग्रामीण पर्यटन गरिबको पर्यटन हो जसमा कम पैसामा गाउँका स्थानीयहरूका घरमा गएर बास बस्ने तिनले पकाएका गाउँका उत्पानको स्वाद लिने, खेतिपातीमा मज्जा लिने, रहनसहनमा रमाउने, अध्ययन र अनुसन्धान गर्ने र मज्जा सँगै ज्ञान र सीप लिने क्रियाकलापहरू पर्दछन् । एक शब्दमा भन्नुपर्दा ग्रामीण पर्यटन एउटा प्रवृतिसँग प्रत्यक्ष सम्बन्धित तथा अद्वितिय वस्तुहरूको अवलोकन र प्रयोगसँग जोडिएको छ ।

ग्रामीण पर्यटनका स्थानीय क्षेत्र र उत्पादीत वस्तुहरूको प्रवद्र्धन, उत्पादनको खपत, रोजगारीको अवसर, आम्दानीमा वृद्धि, वस्तुको सहज उपलब्धता, ग्रामीण उद्योगको विकास, प्राकृतिक वातावरणको सँरक्षण, स्रोत र साधनको अधिकतम परिचालन, सँस्कृति र सँस्कारको आदानप्रदान, ऐतिहासीक पक्षको दिगोपन, व्यापार तथा व्यवसायको विकास, सहकार्यको बानी आदि सकारात्मक पक्षहरूभित्र पर्दछन् । यसका साथै मुल्यमा वृद्धि, प्रविधिले रोजगारी गुमाउने, अपराध, स्थानीयता लोप हुनु, वातावरणीय क्षय, द्वन्द्व आदी भने यस पर्यटनका नकारात्मक पक्षहरूभित्र पर्दछन् । आखिर यसका सवल र दुर्वल दुबै पक्षहरू भएतापनि यसबाट मानिसहरूलाई नविनतम् आनन्द, ज्ञान र रमाइलो सहजै प्रदान गर्नेकुरामा दुइमत हुन सकिँदैन ।

पर्यटनको क्षेत्र र त्यसको विविधिकरणका प्रचुर सम्भावनाहरू रहेको हाम्रो देशमा यस क्षेत्रको सन्तुलित उन्नती गर्न सकेमा देशले काँचूली फेर्न सक्छ । प्रकृतिका उपहारहरू र निर्मित स्थान तथा उत्पादनहरूको महतम् परिचालन र उपयोगबाट देशको अर्थतन्त्रमा ठुलो सहयोग पुग्न सक्दछ । यसको लागि देशको जँगल, जमीन, जडिबुटी, जल र खनीजहरू नै देशका प्रमुख आकर्षणका आधारहरू भएकोले यसको सँरक्षण गर्नु अपरिहार्य छ ।

साथै आधुनिक सहर, गाऊँ, स्थानीय ज्ञान र सीप, वातावरणप्रेमी स्थानहरू, पार्क, जँगली जनावरहरू, निकुञ्ज, शैक्षिक केन्द्र, पहाडी क्षेत्र र जनजीवन, फुलहरू, सँस्कृति र सामाजिक जीवन, स्वादीलो र कमखर्चिलो खाना, खोलानाला, हाते उत्पादनहरू, पुरातात्विक वस्तुहरू, खेलकुद, जातजाति र तिनको जनजातियता, जलयात्रा, यातायात, पदयात्राका स्थानहरू, रात्री र दिवा जीवन शैली, गल्फिङ्ग, मौलिक भेषभूषा र भाषा, रहनसहन, घरबास आदि ग्रामीण पर्यटनका मुख्य क्षेत्रहरूमा उल्लेख्य लगानी बढाई दीर्घकालीन लक्ष्य र कार्य गरिनु जरुरी बनेको छ ।

दिगो सोच र प्रयासले मात्र ग्रामीण पर्यटनको माध्यमबाट ग्रामीण विकास अझ नजिक र सम्भव बन्ने देखिन्छ । अब त झनै देश स्थानीय निर्वाचनपछि संघको अभ्यासमा जाने भएको हुनाले पनि यो क्षेत्रको महत्व थप बढ्ने देखिन्छ । तसर्थ, सरोकारवालाहरूले निर्विकल्प ग्रामीण पर्यटन प्रवद्र्धन पहिलो सर्तभित्र राख्नुपर्नेमा ढिलाइ गर्नु हुँदैन । ग्रामीण पर्यटनको यो कथाले अब व्यापकता पाउनुपर्दछ, उनै डोको, नाम्लो, खेती, परिकारको स्वादको व्याख्या गरिनुपर्दछ र गाउँको विकास गरिनुपर्दछ भन्दै यो कथा अन्त्य गर्दछु ।

धन्यवाद ।

कमेन्ट गर्नुहोस्