फिफा कनफेडेरेशन कप फुटबल: जर्मनी सेमिफाइनलमा

असार १२ । विश्व विजेता जर्मनी फिफा कनफेडेरेशन कप फुटबलको सेमिफाइनलमा पुगेको छ ।

रुसमा भइरहेको प्रतियोगिता अन्तर्गत आइतबार राति भएको समूह ‘बी’ को आफ्नो अन्तिम खेलमा जित निकाल्दै जर्मनीले समूह विजेताको रुपमा अन्तिम चारमा प्रवेश गरेको हो ।

जर्मनीले क्यामरुनलाई ३–१ ले हराएको हो । जर्मनीको जितमा टिमो वेर्नेरले दुई तथा केरेम डेमिरबेले एक गोल गरे । क्यामरुनका लागि विन्सेन्ट अबुबाकरले एक गोल फर्काए । पहिलो हाफमा गोल गर्न नसकेको जर्मनीका लागि ४८ औं मिनेटमा डेमिरबेले पहिलो गोल गरे ।

६६ औं मिनेटमा वेर्नेरले गोल गर्दै जर्मनीको अग्रता दोब्बर पारे । ७८ औं मिनेटमा अबुबाकरले क्यामरुनका लागि एक गोल फर्काए । तर त्यसको तीन मिनेटपछि वेर्नेरले व्यक्तिगत दोस्रो गोल गरेपछि जर्मनी ३–१ ले विजयी भयो ।

जितपछि तीन खेलबाट सात अंक जोडेको जर्मनी समूह विजेता बन्दै सेमिफाइनलमा पुग्न सफल भयो । तीन खेलबाट एक अंक मात्रै जोडेको क्यामरुन भने प्रतियोगिताबाट बाहिरिएको छ ।

जर्मनीले फाइनल प्रवेशका लागि समूह ‘ए’ को उपविजेताको रुपमा अन्तिम चारमा आएको मेक्सिकोसँग प्रतिस्पर्धा गर्ने छ । यी दुवै बिचको खेल बिहीबार सोचीमा हुनेछ ।

कमेन्ट गर्नुहोस्