‘एमाले पैसा बाँड्न गाउँ पसेको’ भन्दै कैलाली र कन्चनपुरमा पहरेदारी

अतरिया, असार १३ । प्रहरीले गएराती “कैलालीको फुलबारीमा पैसा बाँडन गाउँ पुगेको एमाले कार्यकर्तालाई प्रहरीले भगाएको” भन्दै माओवादी र कांग्रेसले आफ्नो आधार गाउँको घेराबन्दी शुरु गरेका छन् ।

पैसा र मतदातालाई लोभ्याउने किसिमले कसैले प्रभाव पार्न नसकोस भन्दै जिल्लाका कतिपय गाउँहरुमा दलहरुले पहरेदारी शुरु गरेका हुन ।

मेयरका एमाले उम्मेदवार दुर्गा जोशीले गएराति कैलालीको फूलबारीमा पैसा बाँडेको नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको आरोप छ । राति १२ बजेतिर गाडीसहित फूलबारीको सी गाँउमा फेला परेका उम्मेदवार जोशीलाई माओवादी केन्द्र र कांग्रेसका कार्यकर्ताले नियन्त्रणमा लिन खोजेपछि सशस्त्र प्रहरीले खानतलासी नगरेरै छोडेको उनीहरुले आरोप लगाएका छन् ।

काग्रेस र माओवादीका कार्यकर्ताले राति २ बजेसम्म सशस्त्र प्रहरी बलको अस्थायी बेसक्याम्प घेराउ गरेका थिए ।

फुलबारीको घटनापछि कञ्चनपुरको पुनर्वास, बेलौरी, शुक्लाफाँटा र कृष्णपुर नगरपालिकामा आफ्नो आधार क्षेत्र भएका गाउँहरुमा नयाँ मान्छे प्रवेश नगरोस भनेर कांग्रेस र माओवादीले कार्यकर्ता नै खटाएका छन् । “जनताले जसलाई मत दिन चाहन्छन्, उनीहरुलाई स्वतन्त्र छोडिदिनुपर्छ । मौन अवधिमा पैसा बाँड्ने या अरु प्रलोभनमा पार्ने काम एमालेले गरेको पुष्टि भएपछि यसो गर्नु परेको हो ।” बेलौरी बैजुडाँगाका अमर थारु चौधरीले बताए ।

यता कैलालीको अतरिया, गोदावरीका बिभिन्न गाउँहरु, चौमाला, टिकापुरभित्रका बस्तीहरुमा समेत कार्यकर्ताहरु चनाखो भएका छन् । कञ्चनपुरको वेदकोटमा एमालेले माओवादी केन्द्रविरुद्ध मौन समयमा भ्रमपूर्ण प्रचार गरेको भन्दै माओवादी केन्द्रले बिरोध गरेको छ । माओवादी केन्द्रका प्रचार प्रसार संयोजक सरल भट्टले एमालेले निर्वाचन आचार संहिताको उल्लंघन गरेर मतदातासमक्ष केन्द्रको उम्मेदवारले एमालेलाई समर्थन गरेको हल्ला फिजाइएको र केही स्थानमा केही बस्तीमा पुगेर आर्थिक चलखेल गरिएको आरोप लगाए । यद्यपी उनको आरोपलाई एमालेले भने खण्डन गरेको छ ।

राजनीतिक दलहरुले कतै नमस्कार भन्दै हात मिलाउँदा पैसा दिने, कतै रक्सी लगेर गाउँ जाने काम भएको उनीहरुको आरोप छ । सबै दलले सबैलाई पैसा बाँडेको आरोप लगाएपनि फुलबारीको घटनाले एमालेले नै पैसा बाँडन बढी कसरत गरेको उनी बताउँछन् ।

निर्वाचनको मौन समयमा राजनीतिक दललगायत सबैले कुनै पनि उम्मेदवार या दललाई प्रचार प्रसार गर्ने किसिमको कार्य गर्न नहुने निर्वाचन आचारसंहितामा उल्लेख गरिएको छ । एमालेले भने आफूले केही नगरेको बरु कांग्रेस र माओवादीले सत्ताको प्रयोग गरेर मतदातालाई प्रभावमा पारेको, आर्थिक प्रलोभन दिएको आरोप लगाएको छ ।

कमेन्ट गर्नुहोस्