मौन अवधिमा भोट माग्न हिँडेका नेतालाई खोलाले बगाउँदा मृत्यु

ओखलढुंगा, असार १३ । ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका ४ स्थित खिजीकातीमा सोमबार राति नेपाली कांग्रेसका स्थानीय नेता कमलबहादुर सुनुवारलाई खोलाले बगाएको छ ।
मौन अवधिको समयमा समेत भोट माग्ने भन्दै हिँडेका सुनुवारलाई चुलेपु जंगलको खोल्सामा आएको बाढीले राति बगाएर बेपत्ता बनाएको थियो ।

सुनुवारको शव करिब सात घण्टापछि प्रहरी र स्थानीयले मंगलबार बिहान खिजीदेम्बा ३ स्थित सात सय मिटर तल फेला पारेका छन् ।
उनी एक आफन्तको विवाहमा समेत सरिक भई आएको र मदिरा सेवन गरेको कारण बगाएको अनुमान गरिएको प्रहरी निरीक्षक टीका कार्कीले बताए । कांग्रेसकै नेता तथा गाविसका पूर्वअध्यक्ष रेवतबहादुर सुनुवारसँगै हिँडेका कमललाई खोलाले बगाए पनि रेवत भने सकुशल छन् ।

कमेन्ट गर्नुहोस्