विश्वकप आयोजनामा हुने भ्रष्ट क्रियाकलापबारे फिफाले अनुसन्धान प्रतिवेदन सार्वजनिक

असार १५ । विश्वकप आयोजनाको दाबी पछाडि हुने तमाम भ्रष्ट क्रियाकलापबारे वर्षौंदेखि अनेकौं चर्चा चल्दै आएकोमा फिफाले मंगलबार एक अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेको छ ।

जसले मतदाताहरूले कसरी भ्रष्ट प्रणालीबाट लाभ लिँदै सन् २०१८ र २०२२ को विश्वकप रसिया र कतारलाई बुझाए भन्ने देखाउँछ ।

जर्मनीको चर्चित दैनिक विल्डले गोप्य रूपमा हात पारी अंशहरू प्रकाशित गर्न थालेको २४ घण्टा नबित्दै फिफाले अनुसन्धानकर्ता माइकल गार्सियाको ४ सय ३० पेज लामो प्रतिवेदन सार्वजनिक गरेको हो । गार्सियाको प्रतिवेदनको सारांश नोभेम्बर २०१४ मा प्रकाशित गरिएको थियो ।

पूर्ण प्रतिवेदनले सारांशमा उल्लेखित मुख्य निष्कर्षलाई प्रमाणित गरेको छ ।

रसियाली पक्षले गार्सियाको टोलीलाई अनुुसन्धानमा सीमित सहयोग गरेको थियो । टोलीले रसियालाई अनुचित प्रभाव पारेको भन्नेबारे कुनै प्रमाण दिन सकेन । भ्लादिमिर पुटिनले डिसेम्बर २०१० को चुनावअघि फिफाका २२ मतदातामध्ये ६ जनालाई भेटेका थिए ।

कतारले आयोजनाको दाबीमा अमेरिकालाई हराउँदा फिफाका नियम नै हल्लेको महसुस भयो । विल्ड टिमले अत्यधिक वित्तीय स्रोतयुक्त राज्य तथा खेलकुद निकाय र सल्लाहकारहरू प्रयोग गर्‍यो ।

फिफाका आलोचकहरूले कुनै बेला गार्सियाको प्रतिवेदनमाथि ठूलो अपेक्षा राखेका थिए । उनीहरूले प्रतिवेदन विष्फोटक रुपमा आउने र आयोजना मतदान फेरि हुने आस गरेका थिए । धेरैको विश्वासमा रसिया र कतारले फिफाको कार्यकारी कमिटीलाई हदैसम्म प्रभाव पारेका थिए । त्यो टिम पछिल्ला वर्षमा भ्रष्टाचारमा मुछिएर पाखा लागिसकेको छ ।

‘धेरै मतदाताले त्यस्तो प्रणालीबाट फाइदा उठाउन चुकेनन् जसले उनीहरूलाई दाबेदार टिमका लागि लागू हुने समान नियमप्रति निश्चित रूपले बाध्य तुल्याएन,’ गार्सियाले प्रतिवेदनमा लेखेका छन् ।

उनका अनुसार केही फिफा अधिकारीले ‘व्यक्तिगत सहयोग वा लोभ’ खोजेका थिए ।

तीमध्ये केही फिफा अधिकारीहरूलाई अमेरिकी न्याय मन्त्रालयले कारबाहीको दायरामा ल्याइसकेको छ । तर गार्सियाको टोलीलाई फौजदारी अनुसन्धानको प्रमाण संकलन गर्ने शक्ति दिइएको थिएन । उनीहरूलाई सन् २०१३–१४ को अनुसन्धानअगावै बाधा पुर्‍याइने कुरा पनि अनुमान गरिएको थियो । गार्सियाको प्रतिवदेनले फिफा मतदाताले बयान दिन अस्वीकार गरेको, दाबेदार मुलुकहरू रसिया र स्पेनले छानबिन टारेको विषय र सम्भावित मुख्य साक्षीपक्षहरू पत्तै लगाउन नसकिएको विषयलाई विस्तृत रूपमा उल्लेख गरेको छ ।

गार्सियाले आफ्नो प्रतिवेदन सेप्टेम्बर २०१४ मा फिफा इथिक्स कमिटीलाई बुझाइसकेपछि त्यसलाई छायाँमा पार्ने काम भयो । उनको प्रतिवेदनको सारांश लेख्ने काम उक्त कमिटीका जर्मन न्यायाधीश हान्स जोचिम इकर्टले गरे । त्यो दुई महिनापछि प्रकासित भयो । तर त्यसको गार्सियाले प्रतिवाद गरे । यो विवादपछि फिफाले प्रतिवेदन र त्यसका सहयोगी प्रमाणलाई स्वीट्जरल्यान्डको महान्यायाधिवक्ताकहाँ समीक्षाका लागि पठाइयो । गार्सियाको खास मिहिनेत त्यतिबेला मात्र झल्कन्छ जतिबेला स्वीस अधिकारीहरूले प्रतिवेदनका आधारमा आफ्नो अनुसन्धान सक्नेछन् । स्वीस संघीय अभियोजन कार्यालयले यसै महिना जनाएअनुसार २५ थरी अनुसन्धान चालु अवस्थामा छन् । १ सय ७० भन्दा बढी आशंकित बैंक कारोबारहरूलाई प्रमाणका रूपमा हेरिने काम चल्दै छ ।

स्वीस अनुसन्धानकर्ताहरूले यस विषयमा एफबीआई र अमेरिकी अभियोजकहरूसँग प्रमाण शेयर गरेका छन् । यस बीचमा एफबीआई र अमेरिकी अभियोजकहरूले ४० जनाभन्दा बढी फुटबल अधिकारीमाथि कारबाही चलाइसकेका छन् ।

रसियाले चाहिँ कुनै गल्ती नगरेको दाबी गर्दै आएको छ तर प्रतिवेदनले भने रसियाले दाबेदारीका क्रममा प्रयोग गरेको कम्प्युटर ध्वस्त पारेको जनाएको छ । यसै गरी रसियाली टिमका कर्मचारीहरूको इमेल अकाउन्ट पनि गुगलबाट रिट्रिभ गरिएन । रसियाको जिम्मा पाएका गार्सियाका डेपुटीले खासै मद्दत पाएनन् । एक रसियाली हतियार व्यापारीलाई अमेरिकामा कारबाही चलाएका कारण गार्सियामाथि रसियाले प्रतिबन्ध लगाएको छ ।

कतारी आयोजकहरूले पनि लगातार आफ्नो कुनै त्रुटी नभएको दाबी गर्दै आएका छन् । तर प्रतिवेदन सार्वजनिक भएपछि उनीहरूका तर्फबाट कुनै प्रतिक्रिया आएको छैन । दुवै विश्वकप आयोजकले दाबीमा बाजी मारेको त भन्लान् तर ब्रुकलिन र बर्नका अभियोजकहरूको अबको कदम के हुन्छ, कता जान्छ भन्नेबारे चाहिँ उनीहरू यकिन छैनन् ।

फिफाले अन्तरमहादेशीय कप अन्तिम चरणमा पुगिरहँदा गार्सिया प्रतिवेदन सार्वजनिक गरेको हो । यो प्रतियोगिताले रसियाली विश्वकप तयारीलाई जाँच्ने काम गर्नेछ । ‘पारदर्शिताका लागि यो प्रतिवेदन अन्ततस् प्रकाशित भएकोमा फिफा स्वागत गर्दछ,’ फिफाले वक्तव्यमा भनेको छ ।

विश्वकप दाबेदारी अभियानका क्रममा सबै मुलुकले आ–आफ्नो किसिमले गतिविधि गरेका थिए । ‘२०१८ र २०२२ विश्वकपका अधिकांस दाबेदार मुलुकका नेताहरूले फिफा कार्यकारी समितिका सदस्यसँग प्रत्यक्ष कुराकानी गरेका थिए,’ गार्सियाले उल्लेख गरेका छन् ।

साभार

कमेन्ट गर्नुहोस्