नेपालका आंशिक प्राध्यापक काठमाडौंमा

काठमाडौं, असार १७ । नेपालभर विभिन्न क्याम्पसहरुमा पढाउने आंशिक प्राध्यापकहरु काठमाडौंमा भेला भएका छन् ।

विभिन्न समयदेखि अध्यापन गराइरहेका त्रिभुवन विश्वविद्यालयलगायतका आंशिक प्राध्यापकहरु दशकौँ पार गर्दासम्म विश्वविद्यालयले करार नगरेको भन्दै भेला भएका हुन् ।

राष्ट्रिय भेलामा प्रमुख अतिथि सांसद भिमसेनदास प्रधानले आफू पनि विश्वविद्यालयमा लामो समय काम गरेको र विभिन्न समस्याहरुमा आफ्नो प्रभावकारी भूमिका निर्वाह गरेको बताएका थिए । उनले भने– ‘आंशिक शिक्षकको पीडा मैले मात्र बुझेको छु, किनकी म आफैं दश वर्ष अस्थायी भएर पढाएको छु, यही भएर समस्याको किनारा नलागुन्जेल तपाइँको साथमा रहने छु ।’

यस्तै भेलामा प्रजातान्त्रिक प्राध्यापक संघका अध्यक्ष जगत तिमल्सिनाले विश्वमा नभएको जात्रा त्रिविमा भएको भन्दै माग सम्बोधनमा संगठनको तर्फबाट २४ सै घण्टा लाग्ने बताएका थिए ।

कार्यक्रममा प्रगतिशील र राष्ट्रिय प्राध्यापक संघका अन्य प्रतिनिधिहरुले मागप्रति त्रिविको कटाक्ष गर्दै प्रतिवद्धता व्यक्त गरेका थिए ।

वक्ताहरुले राष्ट्रिय भेलामा दशकौं देखिको समस्यामा त्रिविले पटक—पटक वाइपास गर्दै करिब १३ सय प्राध्यापकको रोजी–रोटी चुसेको आरोप लगाएका थिए ।

भेलाका अध्यक्ष शशी शर्माले भने– ‘जेनिउन तरिकाले विश्वविद्यालयले हामीसँग गरेका सम्झौता पालना गर्न सक्दैन भने अब हामी चुप लागेर बस्न सक्दैनौँ, हामीले यत्तिमात्र भनेका छौँ पढाएको ज्याला देऊ !’

विभिन्न सरकार र नेतृत्वसँग धेरैपटक समस्या सम्बोधनको सम्झौता भएपनि समाधानतर्फ ध्यान नदिएको कारण त्रिविका आंशिक प्राध्यापकहरुको आन्दोलन जारी छ । सरकारले वास्ता गरेपनि विश्वविद्यालयले कुनै पहल नगरेको कारण आंशिक प्राध्यापकको माग अहिलेसम्म धकेलिरहेको उनिहरुको गुनासो छ । एभरेष्ट दैनिक डटकम सँगको कुराकानीमा उनीहरुले अबको आन्दोलनले ‘कि वार कि पार’ बनाउने ठोकुवा समेत गरे ।

कमेन्ट गर्नुहोस्