‘माओवादीलाई जिताएर एमाले हराउने तै हैनस्’ भन्दै कुटे

भोजपुर, असार १७ । नेकपा माओवादी केन्द्रलाई जिताउन सहयोग गरेको भन्दै एमाले कार्यकर्ताले स्थानीयलाई निर्घात कुटपिट गरेका छन् । भोजपुरको रामप्रसादराई गाउँपालिका–१ मा माओवादी केन्द्रका वडाअध्यक्षका उमेदवारलाई सहयोग गरेको भन्दै स्थानीय डम्बर भुजेललाई निर्घात कुटपिट गरेका हुन्।

भुजेलका अनुसार गत विहीबार आफ्नै घरमा पाँच बर्षका छोरा र ३ बर्षकी छोरीसंगै सुतिरहेको बेला मध्यरातमा उठाएर एमाले कार्यकर्ताले आफूलाई निर्घात कुटपिट गरेको आरोप लगाएका छन् ।

कुटपिटमा एमाले कार्यकर्ताको साथमा माओवादी केन्द्रकै जिल्ला सचिवलय सदस्य पुष्प राई (यावा) को समेत संग्लनता रहेको भुजेलको आरोप छ । झण्डै १२ जनाको समूहले ‘माओवादीलाई जिताएर एमाले हराउने तै हैनस्’ भन्दै आफूमाथि निर्घात कुटपिट गरेको उनले बताएका छन् ।

हाल उनलाई उपचारका लागि भोजपुर ल्याएको छ । भुजेलको दाहिने हात र देव्रे खुट्टा भाँचिएको जिल्ला अस्पताल भोजपुरले जनाएको छ।

कुटपिटको मौखिक उजुरी आएको र घटनाको विषयमा छानबिन सुरु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपरीक्षक काजीकुमार आचार्यले बताएका छन्। हाल भुजेललाई भोजपुरबाट थप उपचारको लागि धरानको बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान लगिएको छ।

कमेन्ट गर्नुहोस्