धनगढीमा भरतपुर दोहोरिने खतरा

कैलाली, असार १७ – प्रदेश नम्बर ७ को एक मात्रै कैलालीको धनगढी उपमहानगरपालिकामा जसरी पनि कांग्रेसलाई जिताउन प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिनु भएको छ ।

उहाँको निर्देशन कार्यकर्तालाई नभई मतगणना स्थलमा बसेका गणक, निर्वाचन कार्यालयका कर्मचारी र मतगणनास्थलमा बस्ने कांग्रेस प्रतिनिधिलाई छ ।
दुई दिनमा बल्ल वडा नम्बर १ को मतगणना सकिएको छ । ३ हजार ६ सय २६ मत खसेको वडा नम्बर १ को वडा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार सन्तोष मुडवरी प्यानलसहित विजयी हुनुभयो । जुन देउवा पक्षका लागि खुशीको कुरा हो । २ र १९ नम्बर वडाको मत गणना चलिरहँदा प्रधानमन्त्री देउवाकै पार्टीका मेयर उम्मेदवार नृपबहादुर वड अघि हुनुहुन्छ । वडले २ हजार ८१ मत ल्याउनु भएको छ भने उपमेयरमा कांग्रेसकै सुशीला मिश्र भट्टले २ हजार ३ सय २७ मत ल्याउनु भएको छ ।

दोश्रो स्थानमा रहेका मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालले १ हजार ७ सय ५१ मत ल्याउनु भएको छ । मतगणनाको शुरुवातमा अग्रता लिए पनि हमाल अहिले दोश्रोमा हुनुहुन्छ ।

यस्तै एमालेका दुर्गा प्रसाद जोशीले मेयरमा १४९८ मत ल्याउनु भएको छ भने उपमेयरमा रुक्मणी देवकोटाले १९३६ मत ल्याउनु भएको छ ।
मेयरमा माओवादी केन्द्रका रामसमज रानाले ७३४ मत मात्रै ल्याउनु भएको छ भने उपमेयरमा शान्ति अधिकारी क्षेत्रीले ११२४ मत ल्याउनु भएको छ ।
झण्डै ५ हजार बढी मत गणना भइसक्दा कांग्रेस अग्रस्थानमा छ भने स्वतन्त्रले कांग्रेसलाई पछ्याइरहेको छ । कम्युनिष्ट घटक माओवादी केन्द्र र एमाले भने पछाडी परेका छन् ।

मतगणनास्थलमा विभेद स् कांग्रेसलाई मनपरी, अन्य दललाई कडाई

धनगढीको रंगशाला नजिकै रहेको क्षेत्रीय स्वास्थ्य तालिम केन्द्रको सभाहलमा चलिरहेको मतगणनास्थलमा सबै दलका कम्तीमा एक एक जना प्रतिनिधि बस्ने पाउने प्रावधान छ ।

यो प्रावधान अनुसार धनगढी उपमहानगरपालिकाको मतगणनास्थलमा पनि सबै दलका एक एक जना प्रतिनिधि भए पनि कांग्रेसका ३–४ जना प्रतिनिधि सहभागी छन् । उनीहरुलाई मतगणनास्थलको तोकिएको ठाउँमा मात्रै नभई मन लागेको ठाउँमा बस्न र गणना भएको मत कम्प्युटरमा आफै इन्ट्री गर्ने छुट छ । उनीहरु विना रोकतोक मनलागेको ठाउँमा आवतजावत गर्छन् ।

तर अन्य दल ९स्वतन्त्र, एमाले र माओवादी० का प्रतिनिधिलाई भने चुइक्क हल्लिनसमेत नदिएको मतगणनास्थलमा रहेका एक प्रतिनिधिले नाम उल्लेख नगर्ने सर्तमा बताउनुभयो । कांग्रेस प्रतिनिधि जस्तै यताउता आवतजावत गर्न खोजे प्रहरीलाई बोलाएर चेतावनी दिने गरिएको छ । ‘कांग्रेसका मान्छेहरु जता गए पनि कसैले केही भन्दैन’ उहाँले भन्नुभयो ‘तर स्वतन्त्र, एमाले र माओवादीका मान्छेहरु बसेको ठाउँबाट हल्लिन खोज्यो भने बाहिरबाट प्रहरी बोलाइन्छ । मतगणना सुरु भएदेखि नै मतगणनास्थलमा यस्तै विभेद देखिएको छ ।’ मुख्य निर्वाचन अधिकृतको कार्यालयको आदेशमा नै आफूहरुले कडाई गरेको तर कुनै पनि पार्टीकालाई छुट नदिएको मतगणनास्थलमा खटिएका एक कर्मचारीले बताउनुभयो ।

बहिनी ज्वाँई मत गन्ने, छोरा कम्प्युटरमा चढाउने

शुक्रबार राति मतगणना चलिरहँदा कांग्रेसका वडको अग्रता कायमै थियो भने कांग्रेसलाई स्वतन्त्र उम्मेदवार हमालले पछ्याइरहनु भएको थियो । एमाले र माओवादीका उम्मेदवार अलि पछि नै थिए ।

तर गनिएको मत कम्प्युटरमा चढाउँदा कांग्रेसको मत बढे पनि स्वतन्त्र, एमाले र माओवादीको बढ्नुपर्ने जति मत बढेन । मत किन बढेन भन्दै कम मत आउने दलका प्रतिनिधिले हल्ला गरे । विरोधपछि फेरि रुजु गर्दा गनिएका मत र कम्प्युटरमा चढाइएका मतमा अन्तर भेटियो ।

त्यो अन्तर एमालेको ४ सय र स्वतन्त्रको १ सय १९ मतको फरक रह्यो । गणनामा आएको मत कम्प्युटरमा चढाउँदा तलमाथि भएपछि कांग्रेस बाहेकका दलका प्रतिनिधीले विरोध गरे भने मतगणना बहिष्कारसम्मको चेतावनी समेत दिए । तर कम्प्युटरमा मत चढाउने व्यक्तिले गल्ती स्वीकार गरेपछि कुरा मिले पनि बाँकी मत शनिबार बिहान मात्रै गणना गर्ने भन्दै मतगणना स्थगित गरिएको थियो ।

कांग्रेस बाहेकका दलले गणना भएका मत कम्प्युटरमा चढाउने व्यक्ति मुख्य निर्वाचन अधिकृत धनसिंह महराका छोरा रहेको आरोप लगाएका छन् । यस्तै मतगणना गर्ने एक व्यक्ति मुख्य निर्वाचन अधिकृतका बहिनी ज्वाइँ रहेका पनि उनीहरुको आरोप छ ।

प्रधानमन्त्री देउवाकै निर्देशनमा मतपरिणाममा चलखेल गर्न महराले आफन्तलाई मतगणनाको काममा लगाएको आरोप पनि एमाले तथा स्वतन्त्र उम्मेदवारका प्रतिनिधिले लगाएका छन् ।
उज्यालो अनलाइनबाट

कमेन्ट गर्नुहोस्