कञ्चनपुरको पुनर्वासमा फर्जी मत भेटिएपछि झडप, पाँच प्रहरी घाइते

भीमदत्तनगर, असार १८ । फर्जी मत भेटिएपछि कञ्चनपुरको  पुनर्वासमा झडप हुँदा पाँच प्रहरी घाइते भएका छन् ।

मतपरिणामको विषयलाई लिएर तनाव उत्पन्न हुँदा पुनर्वास नगरपालिकामा प्रहरी र असन्तुष्ट पक्षबीच झडप भएको हाे । झडपमा प्रहरी र आन्दोलनरत पक्ष घाइते भए ।

पुनर्वास नगरपालिका–१ मा फर्जी मत भेटिएको भन्दै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले असन्तुष्टि जनाएपछि मतगणना स्थगित भएको छ ।

कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताले वडा नं १ को मतपरिणामका विषयमा असन्तुष्टि जनाउँदै मतगणनास्थलमा दिउँसोपछि नाराजुलुस गर्दै आइरहेका थिए । सोही क्रममा प्रहरी र आन्दोलनरत पक्षबीच झडप हुँदा नेपाल प्रहरी र म्यादी प्रहरी गरी पाँचजना घाइते भएका छन् । आन्दोलनकारीको ढुङ्गा लागेर प्रहरी सहायक निरीक्षक देवबहादुर थलाल घाइते भएका छन् ।

प्रहरीले स्थिति तनावपूर्ण बनेपछि बेलुकी पाँच राउन्ड हवाईफायर र छ राउन्ड अश्रुग्यास प्रहार गरेको प्रहरी स्रोतले जनाएको छ । वडा नं १ को वडाध्यक्षमा एमालेका प्रतापबहादुर चन्द प्यानलसहित निर्वाचित भएका थिए ।

असन्तुष्ट पक्षले खसेको मतभन्दा ११३ मत बढी भेटिएको दाबी गरेका छन् । पुनर्वास नगरपालिकामा कुल १९ हजार ९८८ मत खसेको थियो जसमा ५० प्रतिशत मत गणना भइसकेको छ ।

कमेन्ट गर्नुहोस्