पारा तेक्वान्दोमा रन्जनालाई कास्य

काठमाडौं, असार १८ । नेपालकी रन्जना धामीले तेस्रो एसियन पारा तेक्वान्दो च्याम्पियनसिपमा कास्य पदक हात पारेकी छिन् ।

दक्षिण कोरियाको छुनछुन शहरमा भएको च्याम्पियनसिपको ४९ केजी तौलसमूहअन्तर्गत के–५५ विधामा रन्जनाले कास्य पदक हात पारेको पारा तेक्वान्दो प्रशिक्षक कल्याण कुँवरले बताए । रन्जना सेमिफाइनलमा मंगोलियाकी खुरेलबातर इन्खतुयासँग १४–६ ले स्तब्ध भएपछि कास्य पदकमै सिमित भइन् ।  खुरेलबातर यो विधामा स्वर्ण जित्नुका साथै च्याम्पियनसिपको बेस्ट फाइटर समेत चुनिएको प्रशिक्षक कुँवरले बताए ।

पुरुषको ७५ तौल अन्तर्गत के–४२ विधामा रोहीत राई क्वाटरफाइनलमा इरानका जफर्जादेह मोहहमसँग पराजित भएपछि पदक विहिन भए ।

यसअघि रोहितले कोरियाका जाङ योन योलाई हराउँदै क्वाटरफाइनलको यात्रा तय गरेको प्रशिक्षक कविराज नेगी लामाले बताए । महिलाको ५८ केजी तौलसमूहको के–४४ मा नेपालकी पलेसा गोवर्धन टर्कीकी अनुभवी खेलाडी गुलदल गाम्जीसँग पराजित भइन् ।

नेपाली टोलीका प्रशिक्षक कविराज नेगी लामाले खेलाडीले आसलाग्दो प्रदर्शन गरेको बताए । उनले भने ‘धेरै अनुभवी भइसकेका विदेशी खेलाडीविरुद्ध नेपाली खेलाडीले कडा चुनौती दिनु नै राम्रो संकेत मान्नुपर्छ ।’ नेपाली टोलीको व्यवस्थापकमा नेपाली खेलकुदका सफल तेक्वान्दो खेलाडी दिपक विष्ट छन् ।

कमेन्ट गर्नुहोस्