एक मतले हारे कांग्रेस वडा अध्यक्ष

देउखुरी, असार १८ । लमही नगरपालिकाको वडा नं.१ मा नेकपा एमालेका अध्यक्ष एक मतले विजयी भएका छन् ।

नेकपा एमाले वडा अध्यक्षका उम्मेदवार नुमराज पौडेलले एक मतले कांग्रेसका उम्मेदवारलाई पछि पार्दै विजयी भएको निर्वाचन कार्यालयले घोषणा गरेको हो ।

एमालेका नुमराज पौडेलले ५६० र कांग्रेसका उम्मेदवार दामोदर पौडेलले ५५९ मत ल्याएका छन् ।

वडा नं.१ मा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले पुनः मतगणनाको माग गर्दै निवेदन दिएपछि घोषणा रोकिएको थियो । लगत्तै एमालेले पनि वडा नं.९ को मत पुनः गणनाको माग गरेको थियो ।

निर्वाचन आयोगले नियम अनुसार मत परिणाम सार्वजनिक गर्न निर्देशन दिएपछि आइतबार विहान वडा नं.१ र ९ को मतपरिणाम सार्वजनिक गरिएको हो ।

मतगणना सकिएको एक दिन पछि मात्रै यी वडाको मत परिणाम सार्वजनिक गरिएको छ । यस्तै वडा नं.२ को पनि परिणाम पनि घोषणा गरिएको छ ।

कमेन्ट गर्नुहोस्