आफ्नै वडामा चलेन पंगेनीको जोड, हार्यो एमालेले

पुष्पा महरा

हजुरबाले भन्नुहुन्छ सूर्यमा भोट हाल्ने,
हजुरआमा भन्नुहुन्छ, एमाले हो पाल्ने ।
भोट हाल्न लाहुरबाट आउछु भन्छन दाइले,
एमालेकै झन्डा बोकी हिँडेको छ भाइले ।
भोट केमा सूर्यमा, भन्छन् आमा बाले,
सहि पनि एमाले मै पनि एमाले ।

स्थानीय तहको चुनावका लागि नेकपा एमालेले बनाएको गीत हो यो । गीतमा गायक बद्री पंगेनीले स्वर दिएका छन् ।
स्थानीय निर्वाचनका लागि एमालेले गाउँशहर जताततै यही गीत घन्काउँदै भोट माग्यो । कतिले एमालेलाई भोट दिए भने कतिले बद्री पंगेनीको स्वर सुनेर पनि एमालेलाई भोट दिए ।

यो गीत चौतर्फी बजायो । यही गीतकै प्रभावले नै कतिपय ठाउँहरुमा एमाले भोट बटुल्न सफल पनि भयो । फेसबुकसहित सामाजिक सञ्जाल र युट्युवमा मात्र होइन एमालेका नेता तथा कार्यकर्ताको मोबाइलमा पनि यहि गीत घन्कन्थ्यो भने एमालेका हरेक ठूला आमसभामा यो गीत घकिन्थ्यो । एमालेका कार्यक्रमहरुमा गायक पंगेनीले यै गीत गाएर दर्शकलाई मनोरञ्जन दिए । कतिपयले त यति मिठो गीत गाउने मान्छे रैछ एमालेमा म पनि एमालेमै भोट हाल्छुसम्म भन्न भ्याए ।

०६२/०६३ सम्ममा ‘लाउ चेली सिन्दुर लाउ‍‍‍…’, ‘त्रिशुलीकाे किनारमा बालुवा चाल्नेहरु …’ लगायतका गीत गाएर जनताका गायक भनेर चिनिने गायक पंगेनी स्थानीय चुनावसम्म आइपुग्दा भने उनी एमालेका गायक भनेर चिनिए । ‘पंगेनी एमाले हुन,’ भनेर टिकाटिप्पणी गर्नेहरुको भीड छ यहाँ ।

तर गीत गाएर देशैभरी एमालेको पक्षमा जनमत बटुल्ने बद्री पंगेनीकै वडामा भने एमालेले हारेको छ । पाल्पाको रामपुर नगरपालिका वडा ७ घर भएका पंगेनीको वडामा खुला वडा सदस्य एमालेका कमलराज भट्राई बाहेक वडाअध्यक्ष नेपाली काग्रेसका तीर्थप्रसाद पंगेनीसहितका सबै पदमा नेपाली कांग्रेसले जितेको छ ।

यसबारे गायक पंगेनीसँग उनको अनुभवबारे बुझ्न खोज्दा आफू कुनै पार्टीको नेता, कार्यकर्ता नभएको, मात्र कलाकार भएको बताए । उनले ‘गीत आयो मैले गाएँ’ उनले भने ‘प्रधानमन्त्रीको गृह जिल्लामा एमाले आयो, एमाले अध्यक्ष ओलीको ठाउँमा नेपाली कांग्रेस आयो यो चाँही चर्चा नहुने मेरो ठाउँमा एमाले आएन त्यो चाँही किन चर्चाको विषय बन्यो ? भनी प्रतिप्रश्न गरे ।’ काठमाडौंकोे बसुन्धारा बस्ने पंगेनी गृहजिल्ला गई भोट दिएर आएको तर आफू कुनै पनि पार्टीसँग आवद्ध नभएकाले आफूलाई जसले जिते हारेपनि त्योसँग सरोकार नहुने बताए ।

उसो त प्रधानमन्त्रीको गृहजिल्लामा एमालेले जित्नु र एमाले अध्यक्ष केपी ओलीको ठाउँमा नेपाली कांग्रेसले जित्नु जस्तै भएको छ अहिले गायक पंगेनीको गृहजिल्लामा कांग्रेसले जित्दा पनि जहाँतही ‘पंगेनीको वडामा एमालेले हा¥यो’, ‘देशभरी जनमत बटुल्दै हिँड्दा आफ्नो जिल्लामा चाँही विर्सियो, ‘जनताको गायक भएर यस्तो जाबो गीत गाउँने पंगेनी’ जस्ता आदि इत्यादी टिका टिप्पणीहरु बगे्रल्ती आइरहेका छन् ।

पंगेनीको तरिका पनि नेताका संगतले नेताहरुको जस्तै भएको छ । निर्वाचन अघिसम्म खुलेर ‘मै पनि एमाले …’ भन्दै हिँड्ने पंगेनी अहिले चाँही आफू कसैको समर्थक नभएको बताउँछन् ।

कमेन्ट गर्नुहोस्