तीन गाउँपालिकामा पूर्वजनसेना कमान्डर विजयी

काठमाडौं, असार १९ । दोस्रो चरणको स्थानीय निर्वाचनमा रोल्पाका विभिन्न तहबाट उम्मेद्वारी दिएका पूर्व जनसेनाका कमान्डरहरु तीन गाउँपालिकाका अध्यक्षमा विजयी भएका छन् । गाउँपालिका अध्यक्षका साथै उपाध्यक्ष र वडाध्यक्षमा समेत पूर्व कमान्डरहरु विजयी भएका हुन् ।

माओवादी केन्द्रका तर्फबाट सुवर्णावती गाउँपालिकामा पूर्व ब्रिगेड कमिसार रहेका गुनेन्द्र घर्ती ‘विज्ञान’ गाउँपालिका प्रमुखमा विजयी भएका छन् । पार्टीको आन्तरिक पंक्तिमा समेत आकांक्षी धेरै देखिएपछि पार्टीभित्रै निर्वाचन जितेर उम्मेद्वारी दिएका गुनेन्द्रले गाउँपालिकामा जित हासिल गरेका हुन् ।

पूर्व ब्रिगेड कमान्डर रहेका वीरबहादुर घर्ती ‘वियोग’ थवाङ गाउँपालिका प्रमुखमा विजयी भएका छन् । कांग्रेसको गठबन्धनलाई छिचोल्दै वियोग विजयी भएका हुन् । नेकपाको गढको रुपमा चिनिने थवाङमा माओवादी केन्द्रका तर्फबाट वियोगले नेकपाका अमित घर्तीमगरसँग प्रतिस्पर्धा गरेका थिए ।

त्यसैगरी, सुकिदह गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रबाट उम्मेद्वार बनेका पूर्वबटालियन कमान्डर वीरबहादुर खत्री ‘अपराजय’ विजयी भएका छन् । माओवादी केन्द्रका खरा व्यक्तिका रुपमा चिनिने अपराजय आस्थाकै आधारमा १२ वर्ष जेलजीवनसमेत विताएका व्यक्ति हुन् । कडा स्वभावका भएपनि जनताका माझ उनी लोकप्रिय नेताका रुपमा रहेका थिए ।

 

कमेन्ट गर्नुहोस्