दशरथचन्द नगरपालिकामा राप्रपाद्वारा मतपरिणाम अस्वीकार

पुनःमतगणनाको माग

बैतडी, असार १९ ।  बैतडीको दशरथचन्द नगरपालिकाको नगरप्रमुखमा पराजित राप्रपाका उम्मेदवार पुष्करराज जोशी ‘लख्खाभाइ’ले मत परिणाम अस्वीकार गरेका छन् ।

कांग्रेसका नरेन्द्रसिंह थापासँग ६२ मत अन्तरले पराजित जोशीले पुनः मतगणनाको माग गरेका छन् ।

आइतबार सदरमुकाम गोठलापानीमा पत्रकार सम्मेलन गर्दै जोशीले मतगणनास्थलमा संलग्न केही कर्मचारी तथा प्रतिस्पर्धी पार्टीका कार्यकर्ताहरुको मिलेमतोबाट आफ्ना उम्मेदवारका विपक्षमा मतपरिणाम घोषणा गरिएको आरोप लगाए ।नेता लोकेन्द्रबहादुर चन्दको गृहजिल्ला बैतडीमा एउटा पनि सिट नजितेको राप्रपाले मत गणनामा धाँधली भएको दाबी गरेको छ ।

‘मैले ६२ मतले हारेको आधिकारीक जानकारी मलाई भएको छैन र एकतर्फीरुपमा मत परिणाम घोषणा गरियो,’ राप्रपाका उम्मेदवार जोशीले भने ।

मतगणना स्थलमा खटिएका आफ्नो पार्टीका प्रतिनिधिहरुको गम्भीर असहमतिका बाबजुत पनि मुख्य निर्वाचन अधिकृतले औंठाछाप लगाएको मत पनि सदर गरेको आरोप पनि राप्रपाको छ ।

मतगणनाको समयमा बत्ती निभाउने, टर्च बन्द गर्ने, प्रतिनिधिबाहेक अन्य व्यक्तिहरु निरन्तर आवतजावत गर्ने, आफ्ना प्रतिनिधिहरुको सहीछाप विना एकतर्फ ढंगले मतगणनाको अन्तिम नतिजा सार्वजनिक गरेर धाँधली गरेको उनको आरोप छ ।

मतपरिणामको विवरण माइकिङ्ग गर्दा र कम्युटरमा राख्दा फरक राखेको पाइएको प्रमाण पाइएकाले कुनै हालतमा पनि मतपरिणाम स्वीकार गर्न नसकिने राप्रपा जिल्ला अध्यक्ष प्रेमबहादुर चन्दले बताए ।  ‘षड्यन्त्रपूर्वक हरेक वडामा मतपरिणाम सार्वजनिक गरियो, ‘ उनले भने ।

कर्मचारी र प्रतिस्पर्धी दलको प्रतिनिधिहरुको मिलेमतोमा धाँधली पूर्णरुपमा मतपरिणाम सार्वजनिक गरेर जनमतको अपहेलना गर्ने काम भएकाले पुनः मतगणनाका लागि उच्च अदालत कञ्चनपुरमा अपिल गरेको अध्यक्ष चन्दले बताए ।

कमेन्ट गर्नुहोस्