अध्यक्ष अाेलीकाे गृह जिल्लामा एमालेकाे हार, राप्रपा विजयी

दमक, असार १९ । स्थानीय तह दाेस्राे चरणकाे निर्वाचनमा एमाले अध्यक्ष केपी शर्मा अाेलीकाे गृह जिल्ला झापाको हल्दिबारी गाउँपालिकामा एमालेले हार व्यहाेर्नु परेकाे छ । उक्त गाउँपालिकामा अध्यक्षमा राप्रपाका रवीन्द्र लिङ्देन विजयी भएका छन् । उपाध्यक्षमा भने एमालेका डम्बर गिरी निर्वाचित भएका छन् ।

लिङ्देनले ३९४३ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी मञ्जु साप्कोटाले ३५४३ मत प्राप्त गरिन्।

यस्तै, उपाध्यक्षमा निर्वाचित गिरीले ४३८६ मत प्राप्त गरे भने उनका निटकतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी चन्द्रकला राईले २७४७ मत प्राप्त गरिन्।

५ वटा वडा रहेको यस गाउँपालिकाको वडामा भने मिश्रित परिणाम आएको छ। वडा नम्बर १ को अध्यक्षमा एमालेका त्रिलोचन सापकोटाको प्यानलनै विजयी भएको छ।

२ नम्बर वडामा माओवादी केन्द्रका राजेन्द्र योङ्हाङको प्यानलनै विजयी भएको छ। यस्तै वडा नम्बर ३ मा एमालेकी रोशनी सिवाकोटीको प्यानलनै विजयी भएको छ। यस्तै वडा नम्बर ४ को वडाअध्यक्षमा नेपाली कांग्रेसका होम चुडाल विजयी भए भने सदस्यमा भने चारैजना एमालेका विजयी भएका हुन्।

वडा नम्बर ५ मा भने राप्रपाका शेरबहादुर थापाको प्यानलनै विजयी भएको निर्वाचन अधिकृत पदम बहादुर कार्कीले जानकारी दिए।

कमेन्ट गर्नुहोस्