पहिरो पीडितहरुको बारेमा संसदमा वहस

काठमाडौं, असार १९ । प्राकृतिक प्रकोपमा परी विभिन्न स्थानमा जनधनको क्षति भएको भन्दै सांसदहरुले तत्काल राहत तथा उद्धारका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।

व्यवस्थापिका–संसद्को आजको बैठकमा सांसदहरुले सभामुखमार्फत सरकारको ध्यानकर्षण गराएका हुन् ।

बैठकको सुरुमा नै सांसद विन्दादेवी आलेले असार १७ गतेको बाढी पहिरोका कारण कास्कीमा तीन जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएको, बस्ती जोखिममा परेको भन्दै बाढीपहिरो नियन्त्रण र भूसंरक्षण गर्न सरकारको ध्यानकर्षण गराए ।

यस्तै, सांसद रवीन्द्र अधिकारीले सप्तरीको तिलाठीमा एक हजार ५०० घर जोखिममा परेको, ३० घर पूर्ण रुपमा क्षति भएको भन्दै भारतका कारण सीमा क्षेत्रमा बर्सेनि समस्या आउने गरेकाले सो को समाधानका लागि सरकारले कूटनीतिक पहल गर्नुपर्ने माग गरे ।

सांसद अग्निप्रसाद सापकोटाले भूकम्पका कारण जर्जर भएको सिन्धुपाल्चोक जिल्लामा प्राकृतिक विपद् सुरु भएको र केही स्थानमा जोखिम बढेकोे भन्दै तत्काल पूर्वतयारी गर्न आग्रह गरे ।

 

कमेन्ट गर्नुहोस्