राष्ट्रपति ट्रम्प र सीएनएन न्यूज च्यानलबिच ‘हंगामा’

असार १९ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सीएनएन न्यूज च्यानलको लोगोसहितको मास्क लगाएको जस्तो देखिने व्यक्तिसंग रेस्लिङ खेलेको भिडियो ट्वीटरमार्फत सार्वजनिक गरेपछि हंगामा मच्चिएको छ ।

सन् २००७ मा ट्रम्प ‘डब्लुडब्लुई रेस्लिङ’को एउटा फाइटमा सहभागी भएको र यो नयाँ भिडियो क्लिप सोही प्रतियोगिताको भिडियो सम्पादनगरी बनाइएको हो ।

वास्तविक भिडियोमा भने ट्रम्पले पूर्व निर्धारित योजनाअनुसार ‘डब्लुडब्लुई’का मालिक विन्स म्याकमोहनलाई पिटेको देखिन्छ ।

भिडियोको नयाँ एनिमेटेडस्वरुप केहीदिन अघि ट्रम्पका कुनै समर्थकले इन्टरनेटमा पोष्ट गरेका थिए । जसलाई ह्वाइट हाउसबाट सञ्चालित राष्ट्रपतिको ट्वीटर अकाउन्ट पोष्टबाट रिट्विट गरिएको हो ।

ट्रम्पले भिडियो क्लिप ट्वीटरमा पोष्ट गरेपछि सीएनएनले उनीमाथि हिंसा भड्काएको आरोप लगाएको छ ।

सञ्चारमाध्यमको चर्को आलोचना गर्दै आएका राष्ट्रपति ट्रम्पले धेरैपटक सीएनएनले झूठो खबर दिएको आरोप लगाउदै आएका छन् ।

कमेन्ट गर्नुहोस्