नयाँ शक्तिले फोरमसँग एकता नगर्ने

काठमाडौं, असार २० । नयाँ शक्ति नेपाल र संघीय समाजवादी फोरमबीच पार्टी एकता नहुने भएको छ ।

स्थानीय तहको निर्वाचनमा एउटै चुनाव चिन्ह बोकेर निर्वाचनमा उत्रिएपनि वैचारिक मत भिन्नताका कारण एकता नहुने भएको हो ।

संघीय समाजवादी फोरमभित्रका अशोक राई र उपेन्द्र यादवबाहेक अरुले वैकल्पिक राजनीतिको स्पिरिट बुझ्न नसकेको ठहर शीर्ष नेतृत्वको छ । कार्यकर्ता तहमा ने यसअघि नै एकताको बिरोध भएको थियो । निर्मल भट्टराईको समूहले यही विषयमा असन्तुष्टि जनाउँदै पार्टी नै परित्याग गरेको थियो ।

दोश्रो चरणको निर्वाचनमा नयाँ शक्तिले सोचे अनुरुपको सफलता नपाएपछि पार्टीलाई कसरी अगाडि लैजाने भन्ने विषयमा समेत पार्टीभित्र गम्भीर छलफल शुरु भएको छ । पार्टी श्रोतले दिएको जानकारी अनुसार, यही अवस्थामा रहे बिसर्जनको संकट सिर्जना हुने भएकोले पछिल्लो राजनीतिक र सामाजिक परिस्थिति हेरेर गम्भीर निर्णयमा पुग्नुपर्ने केही नेताहरुले बताएका छन् ।

पार्टी नेता बाबुराम भट्टराईले भने नेतृत्व त्याग गरेर नयाँ पंक्तिलाई नेतृत्व सुम्पिने सोचाई राखेको समेत सार्वजनिक भएको छ । तर बाबुरामले संयोजक पद छोडेको खण्डमा नयाँ नेतृत्वले पार्टी धान्न सक्नेमा भने आशंका जन्मिएको श्रोतले बतायो ।

पार्टीले बेहोरेको हारपछि स्थानीय तहमा झन निराशा बढ्ने र कार्यकर्ताहरु अन्य पार्टीमा जाने खतराका बारेमा समेत शीर्ष तहमा छलफल शुरु भएको श्रोतले बतायो ।

कमेन्ट गर्नुहोस्