निगमलाई अन्तर्राष्ट्रिय मापदण्डको प्रमाणपत्र

काठमाडौँ, असार   २० । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले पहिलो पटक अन्तर्राष्ट्रिय मापदण्डको प्रमाणपत्र प्राप्त गरेको छ ।

निगमले उत्कृष्ट ग्राउन्ड ह्यान्डलिङ (भूमि सेवा) बापत आइसागो अन्तर्राष्ट्रिय प्रमाणपत्र प्राप्त गरेको हो । अन्तर्राष्ट्रिय प्रमाणपत्रले निगमको सेवा अन्तर्राष्ट्रिय मापदण्डको भएको बताउँदै निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले यसले व्यावसायिक सफलतामा थप टेवा पुग्ने बताउनुभयो ।

‘आइएटिएज सेफ्टी अडिट फर ग्राउन्ड अप्रेसन’ विश्वका ग्राउन्ड ह््यान्डलिङ गर्ने उत्कृष्ट एयरलाइन्सलाई सर्टिफाइ गर्छ । निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘ग्राउन्ड सर्भिस प्रोभाइड’ गरेबापत अन्तर्राष्ट्रिय प्रमाणपत्र पाएको हो ।

निगमका सहायक प्रवक्ता शैलेश कङ्साकारका अनुसार निगमले केही महिनाअघि सो प्रमाणपत्र पाएको हो । यसको दुई वर्षीय अवधि हुन्छ ।
विमानस्थलमा हाल निगमका ग्राउन्ड ह्यान्डलिङ, इन्जिनियरिङ, क्यास र क्वालिटी फ्लाइट सेफ्टी विभागमा ९०० भन्दा बढी कर्मचारी कार्यरत छन् ।

निगमले एक बोइङ र दुई एयरबसबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएकामा पछिल्लो केही दिनयता एक मात्र बोइङ ग्राउन्डेड भएको थियो । थप दुई वाइड बडी खरिदका लागि निगमले पहिलो किस्ता रकम खरिद गर्ने कम्पनीलाई पठाइसकेको छ । निगमले हाल आठ गन्तव्यमा अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ । रासस

कमेन्ट गर्नुहोस्