दलित विद्यार्थीलाई ४६६ सोलार बितरण

होम साउद
अछाम, असार २० । अछामका बिभिन्न १६ बिद्यालयका दलित विद्यार्थीलाई ४ सय ६६ थान सोलार प्यानल बितरण गरिएको छ । शिक्षाको लागि उज्यालो कार्यक्रम अन्र्तगत बैकल्पिक उर्जा प्रर्बद्धन केन्द्र, जिल्ला उर्जा शाखामार्फत निमावि र मावि तहका ४ सय ६६ जना दलित विद्यार्थीलाई सोलार प्रदान गरिएको हो ।

दलित, गरिव र बिपन्न परिवारका विद्यार्र्थीहरुको शैक्षिक गुणस्तर बृद्धि गरि सिकाई स्तर राम्रो बनाँउने उद्देश्यका साथ सत प्रतिशत अनुदानमा सोलार प्यानल बितरण गरिएको जिल्ला उर्जा अधिकृत प्रिन्सेस प्रधानले बताए ।

१६ लाख ४५ हजार ४ सय ४६ रुपैयाँ बराबरको लागतमा प्रति बिद्यार्थि १० वाटको १ सेटका दरले सोलार प्यानल निशुल्क दिइएको उनले बताए ।
बैकल्पिक उर्जा प्रर्बद्धन केन्द्रले २०७३ असोज १९ मा प्रस्तावना आह्वान गरेको जिल्ला शिक्षामार्फत प्रस्ताव पेश गरेका १६ वटा बिद्यालयका लक्षीत विद्यार्थी कार्यक्रमभित्र परेको उर्जा अधिकृत प्रधानले जानकारी दिए । वडा तथा गाउँपालिका सचिवको सिफारिसमा दलित तथा गरिब विद्यार्थीको तथ्यांक सहित जिल्ला शिक्षा मार्फत बैकल्पिक उर्जा प्रर्बद्धन केन्द्रमा फाईल पठाईएको र स्वीकृत भई आएका ४ सय ६६ विद्यार्थीलार्ई सोलार अनुदानमा बितरण गरिएको उनले बताए ।

उज्यालो बाट घरमा अध्ययन र गृहकार्य गर्न बञ्चित हुनुपर्ने दलित र बिपन्न परिवारका विद्यार्थीलार्ई यसवाट निकै राहत हुने सूर्यचन्द्र मावि कालिमाटीका प्रधानअध्यापक देबेन्द्रबहादुर शाहले बताए । कार्यक्रमले गैरदलित समुदायका पनि गरिब, अति बिपन्न तथा अनाथ र टुहुरा विद्यार्थीलाईसमेत समेट्न सकेको भए थप प्रभावकारी हुने उनले बताए ।

यस्तै शिक्षाको आधार स्तम्भ प्राथमिक तह भएकाले प्राथमिक तहका विद्यालयमा पनि यस्ता खालका कार्यक्रम लागु हुन जरुरी रहेको जाल्पा देवी आधारभूत विद्यालय मंगलसेन नगरपालिका १, ढुंगानीका प्रधानअध्यापक काशिराम उपाध्यायको भनाई रहेको छ ।

कार्यक्रमले विद्यामन्दिर मावि, कुन्ति मावि, दुर्गादेवी मावि, सूर्यचन्द्र मावि लगायतका १६ विद्यालयका लक्षीत विद्यार्थीलाई यो वर्ष समेटेको छ ।

कमेन्ट गर्नुहोस्