तपाइँ बढ्ता बोल्दै हुनुहुन्छ !

रूद्रप्रसाद भट्टराई

यो टिप्पणी लेख्दैगर्दा प्रधानमन्त्रीको झोले नठान्नुहोला । बहसले पहाडीरुप लिइरहँदा सबैको कौतुहलको विषय बन्यो, त्यतिकै रहन सकिएन । रेकर्डेड कार्यक्रमको सन्दर्भलाई लिएर गरिएको नानाभाँती जायज् देखिन्छ । कुरो सार्वजनिक स्थल र घरदैलोमा पुगेको घटना हो न की व्यक्तिगत् अर्थात् गोप्य !

यति भाइरल हुन्थ्यो भन्ने जानेको भए प्रधानमन्त्री शेरबहादुर देउवाले यो शब्द बोल्दैनथे होला । कार्यक्रम बनाउने पक्षले पनि मिलाउन प्रयास गथ्र्यो होला । कुरो हो भर्खरै प्रशारित कार्यक्रम ‘साझा सवाल’ को ।

सहभागी प्रश्नकर्ताको उत्तर दिँदाको विषयलाई लिएर देशको प्रधानमन्त्रीको बोल्ने शैलीप्रति देश तथा विदेशबाट विभिन्न टिकाटिप्पणी सामाजिक सञ्जालमार्फत भाइरल बनेको थियो । केही घण्टादेखि प्रत्येक जनको बहस बनेको छ ।

हार्वर्ड, बेलायत र सिँगापूरको नेतृत्व जस्तै नेपाल किन हुन सकेन, कुर्सीको लागि मात्र प्रधानमन्त्री बन्ने की जनताको लागि पनि बन्ने’ भन्ने प्रश्नको उत्तरले यो अवस्थाको सिर्जना गराएको थियो । सोधकर्ताले चाहेको उत्तर पाए पाएनन्, तर बुझकर्ताको वाक्यले उद्घोषकलाई बुझाउन हम्मे परेको थियो ।

तुच्छदेखि सम्यमसम्म अनेक खालका टिप्पणीले स्थान पाइरहँदा काँग्रेस समर्थित कार्यकर्ता प्रधानमन्त्रीको बचाउमा उत्रिनु जायज छ । तर, त्यहिँ भित्रकापनि बोलीको रुष्टतालाई सरलरुपमा प्रस्तुत गर्नुपर्ने तर्क गर्छन् । एमाले समर्थकहरु यस्ता प्रधानमन्त्रीले के देश बनाउँछन् भनेर खैरो खन्दै हिँडेका छन् ।

माओवादीहरु मानिसको गल्ती हुनसक्ने भएकोले आगामी दिनमा सच्चिनुपर्ने धारणा राख्दै हिँडेका छन् । आज चिया पसल, सार्वजनिक स्थलहरू यहि प्रसँगबाट चर्चित बनेका छन् ।

सर्वसाधारणहरु बोलीलाई शिष्टतामा प्रकट गर्न सकिन्थ्यो, त्यो प्रधानमन्त्रीले नगरेको बताउँछन् । तर, रेकर्डेड कार्यक्रममा सम्पादन दौरानमा यस्ता कुराहरू कति प्रशारण गर्ने भनेर निर्णयार्थ गर्न सकिने कुरालाई मध्येनजर नगरेकोले डिजाइनकै संज्ञा दिएका पनि छन् । अर्को कुरा सार्वजनिक स्थानमा बोल्नका सीमालाई नजरअन्दाज नगरेको अवस्था छर्लङ्गै छ । बोली स्पष्ट नबुझिने व्यक्तिले सार्वजनिक बहसमा भाग लिनु र नलिनुका आ—आफ्नै वाध्यता होलान ।

शैलीलाई थोरै नरम रुपमा प्रस्तुत गर्नपनि सकिने थियो होला । जस्ता अनेक कुराहरू अहिलेको दैनिकी बनेका छन् ।
गल्ती भएको स्वीकार नगर्ने, गरेभने झुक्ने जस्तो गलत मानशिकताले माफी शब्द ओझेलमा परेको सर्वविद्धितै छ । प्रजातन्त्रले बोल्न दिएको, जे पायो त्यहि बोल्ने घटना यो पहिलो होइन । यस्ता चर्चाहरू बारम्बार नेपाली जनताले भोग्दै आएका छन् । कस्ले बोलेको भनेर मसलाको मात्र प्रयोग गरिन्छ यहाँ, तर नदोहोरिने प्रति सजगता कमै देखिन्छ । यहाँ कामले जनताको मन जित्ने भन्दापनि ‘ह्वीममा क्यास’ गर्ने चलनले व्यापकता पाएको छ । बोल्नेको पिठो बिकेको छ तर काम गर्नेले नबोलेकै कारण हार बेहोर्नुपरेको छ ।

उसैपनि टुक्काको देश, नामाकरण हुन मात्र बाँकी छ । समर्थन आफ्नो हातमा आओस् त्यहिपनि छोटो समयमा । यहाँको दाउपेज यत्तिमै सीमित बन्दै गएको छ । मनलागीतन्त्रले यसरी तौल बढाइरहँदा नराम्रोलाई नराम्रो भन्ने भन्दापनि राम्रै हो भन्ने गलत परम्परा बनेको छ । आम जनता दलका कार्यकर्ताको चेपूवामा छन् भन्दा फरक नपर्ला ।

प्रधानमन्त्रीले ‘तपाइँ बढ्ता बोल्दैहुनुहुन्छ !’ भनेको शब्द यहि हो । न प्रश्न सोध्ने रोकिए, न प्रधानमन्त्री । मिलाएर ‘तपाइँले अलि बढी बोल्नुभयो’ भनेको भए आम जनताले राम्रो मान्थे र आश गरेको उत्तर शैली हुन्थ्यो, त्यो बिचार नगरेको पक्कै देखिन्छ । तर, झोँकको अवस्थामा मानिसको शैली एक्कासी परिवर्तन हुनसक्ने कुरालाई स्वभाविक मानिन्छ । स्वभाविकता पछाडिको सार्वजनिक स्थलको मानमर्दनमा प्रधानमन्त्री चुकेको भने पक्का हो ।

यो घटनालाई लिएर क्यानडामा पिआर, अमेरिकामा ग्रिनकार्ड लिएर सामाजिक सञ्जालमा छरिएको शब्दबाणलाई भने कसरी लिने ? के त्यहि कुरालाई आधार मानेर सबै राम्रा कामहरू बिर्षन मिल्छ ? अरुले उचालेको भरमा घरभित्र आगो बाल्न मिल्छ ? यो नजरअन्दाज नगरेको देखिन्छ । यो शब्दलाई लिएर नेपाली भन्दापनि विदेशी ताम्सीएका छन् । विदेशीले बिक्ने मसला बनाइरहेका छन्, देश बेचेर । यस्तो नहोस्, बेलैमा सच्याइयोस भन्दापनि विदेशीको स्टान्डराइजेसनको नेपाल खोज्ने, हौसिने र पपूलिष्ट हुने लहरले प्रभूत्व जमाएको देखिन्छ । यसको मतलव् प्रधानमन्त्रीले सही गरे भन्ने कदापी होइन ।

आफुले गरेको र बोलेको मात्र देख्ने भन्दै ‘भदौमा आँखा फुटेको गोरुले सँधै हरियो देख्ने’ बहानामा मात्तिएका साँढे शैली सबैमा देखिन्छ । आफु ठिक भएमात्र सबै ठिक देखिन्छ भन्ने परम्परा बनाउनु पर्नेमा गलत बाटोकै प्रयोग राम्रो हुँदैन । गल्तीलाई गल्ती भन्न सबैले सिकौँ, सिकाऔँ । आगामी दिनमा प्रश्नकर्ता, सयोँजक, उत्तरकर्ता अर्थात सबै सचेत बनौँ । उखाने शैलीलाई बढावा नदिऊँ । प्रचारकर्ताको भूमिका बुझेर मात्र त्यसको पछि लागौँ । यसो गर्न सकेमात्र यस्ता उवाचहरु समयमै नियन्त्रण हुन्छन्, निरन्तर अगाडि बढ्दैनन् । सबैको ठाउँबाट एकपटक गल्ती स्वीकार गरौँ ।
तथास्तु !

कमेन्ट गर्नुहोस्