टीकापुरमा किन हार्‍यो फोरम ?, यस्ताे छ कहानी ..

धनगढी, असार २१ ।  फोरम लोकतान्त्रिकले कैलालीको टीकापुर क्षेत्र गुमाएको छ। मंगलबार सार्वजनिक परिणामअनुसार टीकापुर नगरपालिकामा गणना सुरु भएदेखि तेस्रो नम्बरमा रहेका एमालेका तपेन्द्र रावलले मेयरमा बाजी मारे । माओवादी केन्द्रका ललित थापालाई ३४९ मतले पछि पार्दै रावलले मेयरमा जिते । रावलले ५९५९ मत ल्याए भने थापाले ५६१० मत ।

उपमेयरमा कांग्रेसकी केशरी विष्ट ६२२६ मत ल्याएर विजयी हए। उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका आशाकुमारी चौधरीले ५५५३ मत ल्याए। तीन दिनसम्म फोरम लोकतान्त्रिकका लौटन चौधरी अग्रस्थानमा रहेकाले टीकापुरमा फोरमले जित्ने अनुमान गरिएको थियो। फोरम उम्मेदवार लौटनले ५४८१ मत ल्याए भने उपमेयरमा फोरमकै सुदेशनी चौधरीले ५११८ मत ल्याए ।, अन्नपूर्ण पोस्टमा खबर छ ।

०७० सालको निर्वाचनमा कैलाली–१ बाट लोकतान्त्रिक फोरमका जनक चौधरी विजयी भएका थिए। त्यतिबेला क्षेत्र नम्बर १ मा साविकको टीकापुर नगरपालिका, धनसिंहपुर, नारायणपुर, दुर्गौली, पथरैया र मुनुवा गाविस थिए। स्थानीय तहको पुनःसंरचनासँगै टीकापुरमा धनसिंहपुर र नारायणपुर गाविस गाभिए भने दुर्गौली, पथरैया र मुनुवामा जानकीनगर गाविस गाभेर जानकी गाउँपालिका बनाइयो।

फोरमले हार्नुमा टीकापुरमा नारायणपुर र धनसिंहपुर जोडिनु पनि रहेको पार्टी निकटस्थ बताउँछन्। फोरमबाट मेयरमा उम्मेदवार बन्नुभएका लौटन चौधरी थारू समुदायभित्र लोकप्रिय नेता मानिनुहुन्छ। ‘हामीले, गाउँ–गाउँसम्म गएर समय दिन सकेनौं, हारको मुख्य कारण त्यही हो’, लौटनले पराजयपछि भने।

टीकापुरको वडा नम्बर ३ मा फोरमबाट वडाध्यक्ष जितेका रामसेवक चौधरी पनि आफूहरूले गाउँगाउँमा गएर समय दिन नसकेकाले मेयरमा हार्नुपरेको बताउँछन्।

पत्रकार एकिन्द्र तिमिल्सिना भने टीकापुर नगरपालिकामा फोरमको संगठन बलियो नभएको तर्क गर्छन।

०५१ सालको मध्यावधि निर्वाचनमा टीकापुर क्षेत्रबाट एमालेका हिमाञ्चलराज भट्टराई, ०५४ सालको स्थानीय तह निर्वाचनमा एमालेकै रत्नप्रसाद सञ्ज्यालले मेयर जितेका थिए। ०५६ सालमा त्यो क्षेत्र कांग्रेसले जितेको थियो भने ०६४ सालमा माओवादीकी रुपासोसी चौधरीले जितेका थिए ।

टीकापुरको चुनावमा यसपालि सद्भावको नमुना पनि देखियो। लौटन चौधरी आफू पराजित भए पनि विजयी मेयर र उपमेयरलाई फूलमाला लगाएर बधाई दिनुभएको छ। ‘मैले दुवैजनालाई फूलमाला लगाइदिएर बधाई दिएँ’, लौटनले भने।

कमेन्ट गर्नुहोस्