राजपाले आजै दल दर्ता गर्ने, विजुलीबजारमा वैठक बस्दै

काठमाडौं, असार २१ । गत बैशाख ७ गते ६ वटा दल मिलेर बनेको राष्ट्रिय जनता पार्टीले दल दर्ता गर्ने भएको छ । संविधान संशोधनको मुद्धालाई मूल विषय बनाएर अहिलेसम्म दल दर्ता नगरी बसेको राजपाले आज निर्वाचन आयोगमा दल दर्ता गर्न निवेदन दिने भएको छ ।

दल दर्ताका लागि आवश्यक संपुर्ण प्रक्रिया पुरा भईसकेको राजपाले जनाएको छ । दर्ताका लागि पार्टीको घोषणापत्र, विधान, लोगो, झण्डा, छाप आदीको टुंगो लागि सकेको छ भने अब दर्ता प्रक्रियामा अघि बढेको राजपाका नेता मनिष सुमनले जानकारी दिएका छन् ।

राजपाको घोषणापत्र र विधानमा समतामुलक समाज निर्माण गर्ने पार्टीको मुख्य लक्ष्य रहन उल्लेख गरिएको छ । मधेशमा दुई प्रदेश बनाउनु पर्ने अवधाणा पनि घोषणा पत्रमा समेटिएको नेता सुमनले बताए ।

स्थानीय तह निर्वाचनको पहिलो र दोस्रो चरण बहिष्कार गरेको राजपाले असोज २ गते हुने स्थानीय तहको निर्वाचनमा भाग लिनका लागि दल दर्ता प्रक्रिया अघि बढाउन लागेको बताइएको छ । हिजो मंगलबार बैठक बसी राजपाले दल दर्ताका लागि टुंगो लगाएको हो ।

आन्दोलनरत राजपाले अध्यक्ष मण्डलको बैठक आज पनि पार्टी कार्यालय विजुलीबजारमा बस्दैछ । प्रधानमन्त्री शेरवहादुर देउवालाई भेटेर सर्मथन फिर्ताको चेतावनी दिएको राजपाले आज त्यसबारे औपचारिक निर्णय गर्न लागेको हो ।

कमेन्ट गर्नुहोस्