२७ जिल्लाका स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक,कसले कति ?

काठमाडौं, असार २१ । दोस्रो चरणअन्तर्गत ३५ जिल्लामा भएको स्थानीय निर्वाचनको अहिलेसम्म २७ जिल्लाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।

गएको असार १४ गते तीनवटा प्रदेशअन्तर्गत ३५ जिल्लाका ३३४ स्थानीय तहका लागि मतदान भएकोमा अहिलेसम्म ३०७ तहको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ भने २७ स्थानीय तहको मतपरिणाम सार्वजनिक हुन बाँकी छ

निर्वाचन आयोग अन्तर्गत रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी०का अनुसार प्रदेश नम्बर १ का ११९, प्रदेश नम्बर ५ का १०४ र प्रदेश नम्बर ७ का ८४ स्थानीय तहको मत परिणाम घोषणा भइसकेको छ ।
बुधबार दिउँसो ३ः३० बजेसम्मको मतगणनाअनुसार, नेकपा एमाले १३५, नेपाली काँग्रेस ११६, नेकपा माओवादी केन्द्र ३६, सङ्घीय समाजवादी फोरम छ, लोकतान्त्रिक फोरम नेपाल छ, राप्रपा चार, राष्ट्रिय जनमोर्चा दुई र स्वतन्त्र उम्मेदवार दुई स्थानमा स्थानीय तहको प्रमुख/अध्यक्ष पदमा निर्वाचित भएको आयोगले जनाएको छ ।

उपप्रमुख एवम् उपाध्यक्षमा एमाले १५७, काँग्रेस ९९, माओवादी केन्द्र ३७, सङ्घीय समाजवादी फोरम नेपाल पाँच, लोकतान्त्रिक फोरम नेपाल पाँच, राष्ट्रिय जनमोर्चा दुई, राप्रपाका दुई स्थानमा विजयी भएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताउनुभयो ।

हाल आठ जिल्लाका २४ स्थानीय तहमा मतगणना भइरहेको छ भने तीन स्थानीय तहमा मतगणना स्थगित भएको छ । मतगणना स्थगित भएका स्थानीय तहमा सुनसरीको धरान, झापाको अर्जुनधारा र कञ्चनपुरको पुनर्वास नगरपालिका हुन् ।

दोस्रो चरणको स्थानीय तहको ३३४ स्थानीय तहबाट १५ हजार ३८ जनप्रतिनिधि चयन हुने छन् । यस निर्वाचनमा ४७ लाख ४० हजार ५२२ मत खसेको थियो ।

कमेन्ट गर्नुहोस्