अब लामो दूरीका सार्वजनिक गाडी गोंगबु तथा पुरानो बसपार्कबाट मात्र छुट्ने

काठमाडौं, असार २२ । लामो दूरीका सार्वजनिक गाडी अब गोंगबु तथा पुरानो बसपार्कबाट मात्र आगमन तथा प्रस्थान गर्न पाउने भएका छन् ।

यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईको अध्यक्षतामा हिजो विभागअन्तर्गतका कार्यालय र ट्राफिक महाशाखाका प्रमुखसहित बसेको बैठकले उपत्यकाको सवारी साधनलाई व्यवस्थित बनाउन यो व्यवस्था गरेको हो ।

लामो दूरीका गाडी यात्रु लिएर काठमाडौं उपत्यकाका विभिन्न स्थानमा लैजाने तथा ल्याउने गरेपछि ठाउँठाउँमा जाम हुने भन्दै नयाँ व्यवस्था गरिएको महाशाखाका प्रमुख मिङ्मार लामाले जानकारी दिए । बैठकले अब उपत्यकाभन्दा बाहिरबाट आएका सवारीसाधन कलङ्कीबाट सिधा नयाँबसपार्क आउनुपर्ने र नयाँ बसपार्कबाट बाहिर जाने सवारीसाधन कलङ्कीबाट सिधा बाहिरिनुपर्ने व्यवस्थासमेत गरेको छ ।

यो नियम लागु नगर्ने गाडीलाई साउन १ गतेदेखि कारबाही गरिने लामाले बताउनुभयो । यस्तै विभागले नयाँ तथा पुरानो बसपार्कको क्षमता र सवारी साधनको सङ्ख्या हेरी वैकल्पिक व्यवस्थापनका लागि स्थानीय निकायका प्रमुखसँग छलफल गर्ने भएको छ ।

यसैगरी चक्रपथका हरियाली क्षेत्रमा सवारीसाधन पार्किङ गरेमा असार २५ गतेदेखि कारबाही अभियान चलाउने बैठकले निर्णय गरेको छ ।

 

कमेन्ट गर्नुहोस्