अरू देशमा भन्दा नेपालमा प्रेस स्वतन्त्रता बढी : प्रधानमन्त्री देउवा

काठमाडौं, असार २२ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा प्रेस स्वतन्त्रताको संवैधानिक व्यवस्था भएकाले विश्वका अरु देशको तुलनामा नेपाली सञ्चारमाध्यमले प्रेस स्वतन्त्रता बढी अभ्यास गरेको दावी गरेका छन् ।

पत्रकार महासंघका सभापति डा.महेन्द्र बिष्टको पुस्तक ‘नेपालमा प्रेस स्वतन्त्रताको अवस्था’ नामक पुस्तकको बिहीबार राजधानीमा लोकार्पण गर्दै प्रधानमन्त्री देउवाले संचारकर्मीले सत्य, तथ्य बुझेर मात्रै लेख्नुपर्ने बताए ।

प्रधानमन्त्रीले भने, ‘समाचार सत्य तथ्य नहुँदा अन्याय पनि हुन्छ कतिलाई, आफ्ना विचार, भावना जे पनि हुन सक्छन् तर समाचार सत्य तथ्यमा आधारित हुनुपर्छ ।’

लोकतन्त्रको पर्याय नै प्रेस भएको उल्लेख गर्दै उनले भने, ‘लोकतन्त्र टिकाउन प्रेस स्वतन्त्रता हुनुपर्छ र लोकतन्त्रले नै स्वतन्त्र प्रेसको रक्षा गर्छ ।’

कार्यक्रममा बोल्दै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले नेपालमा मिडिया कर्पोरेट हाउसको नियन्त्रणमा रहेको उल्लेख गर्दै मिडियाले निष्पक्ष भएर समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिए ।

कमेन्ट गर्नुहोस्