सप्तरीमा राहत हाेइन निकास लिएर जाऊ सरकार

पुष्पा महरा

बाढी प्रभावितहरूको अवस्था बुझ्न प्रधानमन्त्री शेरबहादुर देउवा सप्तरी गएका छन् । निरन्तरको वर्षाका कारण सप्तरीमा आएको बाढीका कारण हजारौ घर प्रभावित बनेका छन् भने वाढीले लाखौको बालीनाली नष्ट गरेको छ ।

स्थानीय महुली खोलामा स्थायी तटबन्ध नहुँदा त्यहाँका १५ हजार घर धूरी प्रभावित बनेका छन् । हजाराै विगा जमिनमा लगाइएकाे बाली नष्ट बनेकाे छ । उक्त तटबन्ध निर्माणका लागि बारम्बार माग गरेको भएपनि अझैसम्म पनि निर्माण कार्य नहुँदा त्यहाँका स्थानीयले यस्तो दुर्दशा भोग्नु परेको हो । प्रधानमन्त्री देउवा भने त्यसैबारे बुझ्न तथा अवलोकन गर्न अहिले सप्तरी पुगेका छन् । प्रधानमन्त्री देउवाले भत्केको बाँधको अवलोकन गर्दै बाढीपीडितहरुसँग भेट समेत गरेका छन् । उनले बाढीपीडितहरुलाई चाँडो राहतको व्यवस्था गरिदिने वचनसमेत दिए ।

स्थानीय लोहजारा गाविसस्थित भेडिया मन्ठसहित मैनाकडेरी, रघुनाथपुरमा बाढीले बितन्डा मचाएको छ ।

बाढीको घटना नयाँ होइन, हरेक वर्ष वर्षायामसँगै सुरु हुने यहाँको दुःखदायी घटनालाई सरकारले अझैपनि नियन्त्रण गर्न नसक्नु कमजोरीपन मात्रै होइन लज्जास्पद कुरा हो । हरेक वर्ष पूर्वीतराई जलमग्न हुन्छ । सरकारका पक्षबाट भने प्रधानमन्त्री मन्त्रीहरु जान्छन्, राहतको कुरा गर्छन अनि फर्किन्छन् ।

जनताले पसिनाले सिर्जेका सम्पत्ती वालीनालीहरु माटो बन्छ । सरकारले दिएको राहत जनताको पसिनाको मोल बराबर हुँदैन । त्यसैले सरकार गएर राहतको कुरा गर्नु ठूलो कुरा होइन, त्यहाँका जनताको दुःख सधैंका लागि हटाइदेउ । तिमी अनि तिम्रो पार्टीलाई जनताले जिताउनुको बल्ल अर्थ हुन्छ ।

बनाइदेउ हरेक खोलामा स्थायी तटबन्ध, फेर्न पाउन जनताले सुखको स्वास । साँझ सुत्यो विहान उठिन्छ कि उठिन्न भन्ने जनतामा भएको भयलाई सदाको लागिहटाइदेउ । अनि तिमी सफल बन्छौं । तिम्राे सरकार सफल हुनेछ ।

कमेन्ट गर्नुहोस्