मृगौला चोरी प्रकरणले संसदमा ठाउँ पायो, छानविन समिति गठनको माग

काठमाडौं, असार २३ । अस्पतालबाटै विरामीको ‘मिर्गौला चोरी’ प्रकरणले व्यवस्थापिका संसदमा प्रवेश पाएको छ ।

शुक्रबार बसेको संसदको बैठकमा पत्थरीको उपचार गर्न अस्पताल हिँडेका व्यक्तिको अस्पतालबाटै ‘मृगौला चोरी’ प्रकरणले स्थान पाएको हो । यो घटना एक जनासँगमात्रै नजोडिएर सिंगो स्वास्थ्य क्षेत्रमाथिको नै प्रश्न भएकाे भन्दै अागामी दिनहरुमा यस्ता घटना दाेहाेरिना नदिन यस घटनाको न्यायिक छानविनका लागि समिति गठन गरी अनुसन्धान सुरु गर्नुपर्ने सांसदहरुले बताए ।

माओवादी केन्द्रका सांसद रामनारायण विडारीले इमान्दार नेताको नाममा खुलेको अस्पतालले विरामीको मिर्गौला चोरी गरेको खबरले देशवासी स्तब्ध भएको बताए । उनले भने, ‘अस्पतालको बकपत्र पढेपछि भयंकर बेइमानी गरेको रहेछ कि भन्ने देखियो । यसमा कोको संलग्न छन् ? न्यायिक आयोग बनाएर छानविन गरियोस् ।’

यो विषयमा छानविन नगर्ने हो भने देशमा मानव अंग तस्करको साम्राज्य चल्ने सम्भावना हुने बताए ।

कांग्रेस सांसद रामहरि खतिवडाले सम्मानित नेताको नाममा खुलेका अस्पतालहरुलाई व्यापारिक केन्द्र बनाएर कोही व्यक्ति धनाड्य हुने माध्यम बनाउन दिन नहुने बताएका छन् । उनले विरामीको मिर्गौला नचोरिएको वा अप्ठ्यारो स्थिति सृजना नभएको भए अस्पतालले किन सम्झौता गर्‍यो भन्ने प्रश्न समेत गरे ।

नुवाकोटका शिव रिमाल पत्थरीको अपरेशन गर्न मनमोहन अस्पतालमा भर्ना भएका थिए । उपचारका नाममा आफ्नो मिर्गौला चोरी भएको उनले बताएका छन् ।

तर, अस्पताल प्रशासनले भने उपचारका क्रममा गम्भीर समस्या आएपछि पीडितको मिर्गौला झिकिएको र त्यो अस्पतालमा सुरक्षित रहेको दाबी गरेको छ ।

कमेन्ट गर्नुहोस्