धनगढीमा कांग्रेसका ओड १३ सय ५५ मतले अघि, भोलीसम्म परिणाम आइसक्ने

लोकेश धामी

धनगढी, असार २३ । कैलालीको धनगढी उप–उपमहानगरपालिमा ७,८०८ मत गणना हुन बाँकि रहँदा नेपाली कांग्रेसका नृपबहादुर ओडले अग्रता कायमै राखेका छन् । केहिबेर अघि घोषणा गरेको मत परिणाम अनुसार उनी स्वतन्त्र उम्मेदवार गोपाल हमालभन्दा १३ सय ५५ मतले अगाडी छन् ।

कांग्रेसका ओडले ११९३५ मत प्राप्त गरेका छन् । उनलाई स्वतन्त्र उम्मेदवार हमाल १०५८० मत पाउँदै पछ्याइरहेका छन् । विहानसम्म साढे ११ सय मतले अग्रता लिएका ओडले पछिल्लो पटक घोषणा गरेको परिणाम अनुसार दुइ सय मत थप गर्दै जित सुनिश्चित गरेका छन् । यस्तै १५ वटा वडाको मतपरिणाम सार्वजनिक हुँदा नेकपा माओवादी तेस्रो स्थानमा उक्लिएको छ ।

माओवादीका रामसमझ रानाले ८५०५ मत पाउँदै तेस्रो स्थान ओगट्न सफल भएका छन् । उनीहरुविच ७९ मतको मात्रै अन्तर रहेको छ । एमालेका जोशीले ८४२६ मत प्राप्त गर्दा माओवादीका रानाले ८५०५ मत पाएका छन् । यस्तै उपमेयरमा पनि कांग्रेसकै शुसीला भट्ट मिश्रले नै अग्रता लिएकी छन् ।

उनले हालसम्म १४९५५ मत प्राप्त गर्दै अग्रता कायमै गरेकी हुन् । यस्तै एमालेकी रुक्मणी देवकोटाले १०९५३ मत प्राप्त गर्दा माओवादीकी शान्ती अधिकारी क्षेत्रीले ८६९९ मत पाएकि छन् । यो परिणाम ४६ हजार ५६४ मत गणना हुँदाको हो ।

५४ हजार ३ सय ७२ मत खसेकोमा अब ७,८०८ गणना हुन बाँकि छ । हालसम्म गणना भएको मत अनुसार बदर मतको संख्या पनि धेरै छ । आज दिउँसो १ बजेसम्मको परिणाम अनुसार मेयरमा ३४३१ र उपमेयरमा २३६७ मत बदर भएको छ ।

१९ वटा वडा रहेको धनगढीमा १५ को अन्तीम परिणाम पनि घोषणा भइसकेको छ । जसमध्ये कांग्रेसले ७ वडामा प्यानल र २ वडामा अध्यक्ष मात्र सहित ९ वडामा जित हासिल गरेको छ । भने, माओवादी ४ वडामा विजयी हुँदा एमाले भने २ वडामा चित्त बुझाउन बाध्य छ । अहिले ९, ११ र १२ वडाको गणना भइरहेको छ । बाँकि रहेको १० नम्बर वडाको गणना पनि आजै सुरु हुने मुख्य निर्वाचन कार्यालयले जनाएको छ । ‘सात समूहबाट भइरहेको मत गणना तिव्र भइरहेको छ । यहि गतिमा गणना हुने हो भने भोलिसम्म अन्तिम मतपरिणाम आइसक्छ ।’ मुख्य निर्वाचन अधिकृत धनसिह महरा बताए । धनगढी सात नम्बर प्रदेशको एक मात्रै उप–उपमहानगरपालिका हो ।

कमेन्ट गर्नुहोस्