चुनावी कथा

लालकिल्ला भत्किएपछि .......!

रूद्रप्रसाद भट्टराई

२० वर्ष पछिको चुनाव । गाऊँ तथा नगरमा राम्रै चहलपहल । २ दशकदेखि हराएका साथीभाइ तथा दिदीबहिनीहरुको जमघट् । धेरै खुसी हुँदै तर त्यसभित्रपनि थोरै रिसाउँदै । रिसाउँदै यसकारण की मतदाता नामावलीमा नाम छैन । परिवारका सम्पूर्ण सदस्यहरुको नाम छ तर उसकै छैन ।

यत्तिका वर्षमा गाउँले नेतृत्व चुन्ने अवसरलाई संदेशले गूमाएको थियो । धेरै टाढाबाट आएका साथीभाइ खुसी हुँदा ऊ दिल खोलेर हाँस्न सकेको थिएन, कारण उ मतदान गर्नबाट वञ्चित बनेको थियो । जतिलाई भेट्थ्यो भन्थ्यो, ‘म नेतृत्व चुन्नबाट पन्छिएँ, कति रहर थियो पाइँन’ ।

मतदान गर्न नपाएर के भो र ! निरन्तर भोट माग्न र ग्रामीण जनतालाई सकेसम्म कन्भिन्स गर्नमा व्यस्त बन्यो । ‘लालकिल्ला’ यो चुनावको महत्वपूर्ण शब्द बन्यो । एकपटक ढाल्ने, नयाँलाई चान्स् दिने ।

रूद्रप्रसाद भट्टराई

देशभर यो शब्दको लोकप्रियता यतिविघ्न बढ्यो की सबैको चासोको विषयपनि बन्न पूग्यो । कांग्रेस, एमाले, माओवादी, फोरम, नयाँशक्ति आदि । सबैका छल अनि पटकहरु गाउँ नगरमा फैलिए । सीमित कार्यकर्ता र अधिक जनताबिचमा अन्तरक्रिया, बैठक, नाटक त कहिले प्रहसन । सबैका आ—आफ्नै प्रतिवद्धता । कोहि भन्दा कोहि कम छैनन् । यहि हावाले संदेशलाई नजानिँदो तरिकाले निर्वाचन अवधि र मतगणना नसकिन्जेल जालमा पारिरह्यो ।
स्थानीय निर्वाचनमा मतदाताको उल्लेख्य सहभागिताले संदेशलाई मात्र होइन सम्पूर्ण जनतालाई खुसी बनायो । ७३ प्रतिशत भन्दा बढी जनताको सक्रिय सहभागिताले भोट दिन नपाएको संदेश फुरुङ्ग थियो । स्वयँसेवकको ट्याग झुण्ड्याइहालेछ । दिनभर पानी परिरहेपनि उ खटिरह्यो । समय अवधिभर वृद्धवृद्धा, अपाङ्ग, असक्त र अन्यलाई गच्छेनुसार सहयोग गर्यो ।
बिच बिचमा सक्नेले पनि नसक्नेको एक्टिङ् गरेर मतदानमा सहयोग गर्न आउनेमध्ये धेरैलाई नियन्त्रणमा राखेको पनि थियो । तर, सम्पूर्णमा त्यो विधिले काम गर्न सकेन, लाठ्ठेले ड्याङ ड्याङ ठोकेको दृश्यले भने थोरै चित्त दुखाएको थियो ।

नभन्दै मतदान सकियो, पोका पारेर सम्वन्धित केन्द्रमा लैजानेक्रममा थियो । संदेश दौडिएर आयो र भन्यो, ‘यो केन्द्रमा हामीले जित्छौँ यार !’ । खुसी भएका उसका लँगौठीहरुले उसलाई धाप दिएर धैर्य रहन आग्रह गरे । त्यसपछि क्रमशः मतदान केन्द्र खाली हुँदै गयो, एकैछिनमा बेहुली विदा गरेको घरजस्तै देखियो ।
रातमा साना झुण्डहरु छरिएर रमाइलो गर्न गए त कोहि मतगणनास्थलतिर हुर्रिए । तर, त्यहि रात मतगणना सुरु नहुने जानकारीले गर्दा साथीहरु मध्यरातमा लर्बरिँदै घर फर्किएका थिए । चोक तथा गल्लिहरु राति अबेरसम्म गुनगुन् आवाजमा सल्बलिएका थिए । संदेशको ग्रुपपनि मध्यरातसम्म गफमा झुम्मिएको थियो । निष्कर्श निकाल्दै छुट्टिएका थिए ‘जीत हाम्रै हुन्छ ।’

भोलि बिहानैबाट मतगणना सुरु भयो । मान्छेका हुल परिणाममा केन्द्रित थियो । एकपछि अर्को परिणामहरु आइनै रहे । काहिँ एमाले, काहिँ काँग्रेस त काहिँ माओवादी र काहिँ राप्रपा । यस्तै परिणामहरु आइरहे ।

मतपरिणाम आइरहँदा धेरैको कौतुहल थियो लालकिल्ला भत्काउन सक्छन् की सक्दैनन् ? धेरै स्थानहरुमा तोडिए । त्यहि परिणामले निरन्तरता पाउँदै गयो । कुनै दल विशेषको हालीमुहाली भएको स्थान लालकिल्ला हो जुन नभत्काई विकास हुँदैन भन्नेको यस चुनावमा बाहुल्यता रहेको पनि थियो । किनकी स्वाद न हो ‘चिनी बढी भए तितो हुन्छ’ भनेजस्तै किल्लाहरु भत्कीएसँगै संदेशमा एक प्रकारको खुसी छाउँदै गएको थियो ।

कोहि हारमा निराश थिए त कोहिको खुसीको सीमा थिएन । अघिल्लो दिनसम्म पानी बाराबार गर्ने समुहहरु क्रमशः सामान्य दैनिकीमा फर्कन सुरु गर्दैथिए, तर भित्रभित्र रिसका ज्वालाहरु नझल्किएका भने होइन । त्यहि ठाउँमा बस्ने मानिसहरु कुनै दलको कारण छुट्टिनु र जोडिनु अनौठो नभएपनि कत्तिमा कालान्तरसम्म खोट रहेको संदेशले बिर्सेको रहेनछ । जति नै रिस उठेपनि सम्यमतामा उसको प्रयास कोशेढुँगा सावित भएको थियो ।

मतपरिणाम सार्वजनिक भैसकेपछि जनताले दिएको मतलाई नेतृत्वले अबपनि धोकाखडी गर्न नहुने संदेशको भनाइ थियो । उसले भन्यो चुनावमा जुन नेतृत्व आएपनि गाउँको विकासमा एकइन्च सम्झौता गर्नुहुँदैन । जुन कारण देश विकास भएन त्यहि कुराले अब स्थान पाउनुहुँदैन । भेदभाव रहित समाज निर्माणमा गाउँले एकजुट हुनु अहिलेको आवश्यकता हो भन्दै महान वाणीहरुको वर्षा गरायो संदेशले । पूर्वाधार विकासमा अब गाउँले छलाङ मार्न यो नेतृत्व कटिवद्ध भएर लाग्नुपर्ने कामना गर्दै साँझ ५ बजेको गाडीबाट ऊ विदा भएको थियो ।
यदी संदेशले सोचे र प्रस्तुत गरेजस्तै समाज निर्माण भए हामीलाई केहि चाहिन्न थियो । यस पटकको चुनावले संदेशले भनेजस्तै संदेश दिन सकोस् ।

कमेन्ट गर्नुहोस्