धनगढी उपमहानगरपालिकाको नवनिर्वाचित मेयर वड को हुन ?

लोकेश धामी

धनगढी, असार २४ । स्वतन्त्र उम्मेदवार गोपाल हमालसँगको रोमाञ्चक चुनावी प्रतिस्पर्धाबाट बल्ल आज मुक्ति पाएका नवनिर्वाचित धनगढी प्रमुख नृपबहादुर वडको पुर्खौली घर एमालेका उपाध्यक्ष भीम रावलको गृह जिल्ला अछामको घुघुँरकोट हो ।

नेपाली कांग्रेस धनगढी नगर सभापति समेत रहेका वडको स्थायी बसार्इ भने हाल धनगढी–६ रहेको छ । धनगढीकै एक विद्यालयबाट आइसम्म मात्रै उनले अध्ययन गर्न भ्याए ।

विद्यार्थीकालदेखि नै राजनीतिमा रुचि राख्ने उनी वि.स.२०४६ सालमा कांग्रेसको भ्रातृ नेवि संघबाट राजनीतिक यात्रामा हाम फाले ।

नवनिर्वाचित उपमहानगरपालिका प्रमुख वडको पारिवारीक पृष्ठभूमि सामान्य नै थियो । वडभन्दा पहिले उनको परिवारमा राजनीतिमा कसैले यात्रा थालेका थिएनन् ।

विभिन्न व्यक्तित्वका प्रेरणा तथा विद्यार्थी आन्दोलनले उनीमा राजनीतिमा लाग्ने मोह पलायो । वि.सं २०४६ सक्रिय रहे । त्यसताका उनी वडा सभापति हुँदै नगरसचिव र सभापतिसम्म हुनुभयो ।

वड दलित समुदायबाट राजनीतिमा पाइला टेकेका व्यक्ति हुन् । विभिन्न कष्ट र दबाबका बीच उनले यो स्थानसम्म पुग्न सफल भएका छन् । उनी कांग्रेस निकट नेपाल दलित संघका केन्द्रीय सदस्य समेत छन् ।

विकास निर्माणका कार्य अगाडी बढाउने धनगढीबासी आशावादी

पार्टीले स्थानीय चुनावका लागि टिकट वितरण गर्ने बेला देखि विभिन्न कारणले चर्चामा आएका वडबाट धनगढीका जनताले विकासको आशा गरेका छन् ।

सबैभन्दा पहिले वडले यहाँको बजार क्षेत्रलाई व्यवस्थित बनाउनेमा जनता विश्वस्त छन् । नवनिर्वाचित वडले पनि आफ्नो चुनावी एजेण्डा नै बनाएका छन्, धनगढीलाई स्मार्ट सिटी । सुविधा सम्पन्न उपमहानगरपालिका तथा एउटा नमूना शहर बनाउने उनको प्राथमिकताका योजना हुन् ।

यो उपमहानगरपालिकाभित्र थुप्रै समस्या छन्, अव्यवस्थित बसोबास, व्यापक खोला अतिक्रमण, ऐलानी जग्गा, ढल निकास, ठूला कार्यक्रम संचालनका लागि मैदान अभाव, छाडा चौपाया, बाढी डुवान, पक्की बाटोघाटोको समस्या, मुख्य सडक साघुँरो इत्यादी । यी समस्या आफू निर्वाचित भएमा समाधान गर्ने भनेर उनले प्रचारप्रसार गर्दा प्रतिवद्धता जनाएका छन् ।

उनले पनि आफ्नो पाँच वर्षिय कार्यकालमा पूरा गरेरै छाड्ने विश्वास दिलाएका छन् । हेरौं पाँच वर्षिय अवधिमा उनले गरेका प्रतिवद्धता के कति पूरा गर्छन् ।

सात नम्बर प्रदेशमा अब १ तहको मात्रै परिणाम आउन बाँकी

सात नं. प्रदेशमा एक स्थानीय तहको मात्रै मतपरिणाम आउन बाँकी रहेको छ । आज विहान कैलालीको धनगढी उप–महानगरपालिकाको परिणाम सार्वजनिक भएसंगै अब यहाँ एउटा स्थानको मात्रै आउन बाँकी रहेको हो ।

८८ वटा स्थानीय तह रहेको सात नम्बर प्रदेशमा ८७ स्थानमा मत परिणाम सार्वजनिक भइसकेको छ । जसअनुसार नेपाली कांग्रेस र नेकपा एमालेले समान ३८-३८ स्थानीय तह जितेका छन् । माओवादी केन्द्रले १० वटा तहमा जित हासिल गर्दा विजय कुमार गच्छादार नेतृत्वको नेपाल लोकतान्त्रीक फोरम १ स्थानमा मात्रै सिमीत भएको छ । अब कञ्चनपुरको पुनर्वास नगरपालिकाको परिणाममात्रै आउन बाँकी छ ।

कमेन्ट गर्नुहोस्