छामेर पत्ता लगाउनुस् स्तन क्यान्सर

बलिउडमा सफल नेपाली चेली मनिषा कोइरालालाई डिम्बाशयको क्यान्सर भएपछि अमेरिकामा उपचार गरेर निको भइन्। हलिउडकी चर्चित अभिनेत्री एन्जेलिना जोलीले क्यान्सरको जोखिमबाट बच्न आफ्ना दुवै स्तन फाल्न लगाइन्। यसबाट के शिक्षा मिल्छ भने क्यान्सर जोसुकैलाई लाग्न सक्छ र उपचार गराउने क्षमता राख्नुपर्छ। तर, सबैमा त्यस्तो आर्थिक क्षमता हुँदैन। क्यान्सर सम्बन्धी होशियारी भने सबैले राख्न सक्छन्।

महिलाहरूलाई धेरैजसो स्तन, डिम्बाशय, आन्द्रा र पाठेघरको क्यान्सर हुने गरेको देखिन्छ। तीमध्ये यहाँ स्तन क्यान्सरको चर्चा गरिन्छ। महिलाको सहायक प्रजनन अङ्ग हुन्, स्तन। यी विशेष ग्रन्थीहरू शिशुको पोषणको लागि जस्तै यौनको दृष्टिकोणले पनि महत्वपूर्ण छन्। चिकित्सा विज्ञानको दृष्टिले ग्रन्थी, बोसो र रेसादार तन्तुहरूले बनेको पिण्ड हो– स्तन।

स्तन छातीको मांसपेशीको भित्तामा रेसीय तन्तुको मद्दतले टाँसिएको हुन्छ। स्तनभरि नै मुख्यतः बोसोयुक्त तन्तु हुन्छ। यसैले स्तन मुलायम र निश्चित आकारको हुन्छ। यसमा दूध बनाउने ग्रन्थी, दूध ग्रन्थीबाट मुन्टासम्म दूध ओसार्ने नलीहरू, मुन्टा वरिपरिका भाग, रेसीय तन्तु एवं बोसो हुन्छ। शरीरको अन्य भागमा झैं स्तनका कोषहरूमा पनि असामान्य, अनियन्त्रित र अनावश्यक वृद्धि हुन गई गिर्खा, गाँठागुठी तथा निको नहुने घाउ बन्ने अवस्थालाई स्तन क्यान्सर भनिन्छ।

विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा वर्षेनि एक लाखमा २१.८ महिलामा स्तन क्यान्सर हुन्छ। तीमध्ये १० जनाको मृत्यु हुन्छ। महिलामा हुने सम्पूर्ण क्यान्सरजन्य मृत्युमध्ये २० प्रतिशत मृत्यु स्तन क्यान्सरले गराउँछ। पुरुषको दाँजोमा महिलामा स्तन क्यान्सर सय गुणा बढी हुन्छ।

स्तन क्यान्सर अमेरिका र यूरोपभन्दा एशिया एवं अफ्रिकामा कम देखा परे पनि यस सम्बन्धी जनचेतनाको कमी, गरीबी तथा महिला शिक्षाको कमीका कारण ढिलो गरी पहिचान हुन्छ। त्यो बेलासम्ममा स्तनको क्यान्सर हड्डी, फोक्सो, कलेजो, डिम्बाशय र स्नायु प्रणाली (दिमाग) सम्म फैलिसकेको हुन सक्छ।

५० वर्षभन्दा माथिका, आनुवंशिक खराबी भएका, ३५ वर्षपछि विवाह गरेर आमा बनेका, १२ वर्ष अगाडि नै महीनावारी शुरू भएका, मोटोपना भएका, अधिक वा लामो समयदेखि इस्ट्रोजेन सेवन गरेका, अधिक धूम्रपान तथा मद्यपान गर्ने, बढी चिल्लो तथा बोसोयुक्त खाना खाने महिलामा स्तन क्यान्सरको जोखिम बढी हुन्छ।

यसैगरी, वंशाणुगत कारणले पनि नजिकका नातेदारमा स्तन क्यान्सर हुन सक्छ। साथै, विवाह नगरेका, बच्चा नजन्माएका, बच्चा पाएर स्तनपान नगराएका र पहिले एउटा स्तनमा क्यान्सर भइसकेका महिलामा पनि यो रोगको जोखिम उच्च हुन्छ। २५ वर्षभन्दा कम उमेरका महिलामा स्तन क्यान्सरको दर कम रहेको विभिन्न अध्ययन–अनुसन्धानले देखाएका छन्।

लक्षण, परीक्षण र उपचार

स्तनमा गिर्खा हुनु, स्तनको आकारमा परिवर्तन, मुन्टाबाट रगत वा पिप बग्नु, स्तनको छालामा सुन्तलाको बोक्रामा जस्तो स–साना प्वाल देखिनु, मुन्टा भित्र धसिनु आदि स्तन क्यान्सरका लक्षण चिह्न हुन्। यस्ता लक्षण देखिइसक्दा पनि दुखाइ भने प्रायः नहुने भएकाले स्तन क्यान्सरले धेरैलाई झुक्याउँछ।

निर्वस्त्र भएर ऐना अगाडि उभिंदा, श्रीमान्ले स्तन चलाउने क्रममा वा स्वास्थ्य परीक्षणको बेला माथि उल्लिखित लक्षण भेटिन्छ। त्यसक्रममा शंका लागे म्यामोग्राफी भनिने विशेष खालको स्तनको एक्सरे गराउनुपर्छ। म्यामोग्राफीबाट स्तन क्यान्सरको शुरू अवस्था पत्ता लाग्छ। ४० वर्ष नाघेका तथा अन्य कारणले स्तन क्यान्सरको जोखिममा रहेका महिलाले म्यामोग्राफी गराउनु राम्रो हुन्छ।

स्तन क्यान्सरको निदानका लागि एफएनएसी (स्तनमा आएको गिर्खा वा गाँठागुठीमा सियो छिराएर सियोमा अट्ने जति मासु वा श्रावको जाँचबाट गरिने) परीक्षण गरिन्छ। यसबाट ९८ प्रतिशतसम्म रोग पत्ता लाग्न सक्छ। एफएनएसी जाँचको नतीजा अस्पष्ट भएमा स्तनको प्रभावित भागबाट सानो अंश मासु निकालेर प्याथोलोजी ल्याबमा परीक्षण गरिन्छ।
स्तन क्यान्सर निश्चित भएपछि क्यान्सरको चरण, बिरामीको अवस्था तथा अन्यत्र फैलिए नफैलिएको आधारमा शल्यक्रिया, रेडियोथेरापी, केमोथेरापी, हर्मोनथेरापी वा बिरामीलाई केवल माया, पोषण र पीडा कम हुने औषधि दिनुपर्ने हुन्छ।

जहाँसम्म रोकथामको कुरा छ, स्तनमा गाँठागुठीको अलावा माथि उल्लिखित लक्षण चिह्नहरू देखापर्ने बित्तिकै परीक्षण गराइहाल्नुपर्छ। त्यसको अलावा धूम्रपान नगर्ने, चिल्लो तथा बोसोयुक्त खाना कम खाने, तौल नियन्त्रणमा राख्ने र बच्चा पाएपछि स्तनपान गराउनुपर्छ। प्रांगारिक फलफूल, सागसब्जी र रेसादार खानाले सबैखाले रोगबाट बचाउँछ।

डा सुमन ताम्राकार, हिमाल खबरबाट

कमेन्ट गर्नुहोस्