कैलालीमा करिब ३० प्रतिशत बजेट फ्रिज हुने

लोकेश धामी, कैलाली
कैलाली, असार २४ । आर्थिक वर्ष सकिनै लाग्दा पनि कैलालीमा विकास बजेट अपेक्षाकृत खर्च हुन सकेको छैन । शनिबारसम्म कैलालीमा विकास बजेटको निकासा ६६.३५ प्रतिशत रहेको कोष तथा लेखा नियन्त्रण कार्यालय धनगढीले जनाएको छ ।

चालु आर्थिक वर्षका लागि जिल्लामा आएको पुँजीगततर्फको ५ अर्ब ९८ करोड ५० लाख बजेटमध्ये ३ अर्ब ९७ करोड ८ लाख ५६ हजार निकासा भएको छ ।

यस्तै चालुतर्फको बजेट खर्च ८२ प्रतिशत छ । चालुतर्फको ९ अर्ब ३० करोड ५० लाखमध्ये ७ अर्ब ७१ करोड ७० लाख निकासा भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । यस वर्ष कैलालीमा खर्च नभएर ठूलो रकम फ्रिज हुने देखिएको छ ।

कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख कोष नियन्त्रक शिवप्रसाद चौधरीले बजेट खर्च सन्तोषजनक नदेखिएको बताए । केही ठूला आयोजनाको खर्च प्रतिशत भने राम्रो देखिएको छ । कैलालीमा शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यलयको बजेट सबै भन्दा कम खर्च भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार हालसम्म सो कार्यालयको करिब २१ प्रतिशत बजेटमात्र निकास भएको छ । उक्त कार्यालयको पुँजीगत तर्फको १ अर्ब ३२ करोड ३७ लाखमध्ये २७ करोड ८८ लाख रुपैयामात्र निकासा भएको छ । सो कार्यालयको पुँजीगत बजेट कम खर्च भएकाले जिल्लाकै कुल खर्चको अनुपातसमेत कम देखिएको प्रमुख कोष नियन्त्रक चौधरीले बताए ।

सो कार्यालय अन्तर्गत धनगढीको विकासका लागि संचालित सघन सहरी विकास कार्यक्रमलगायत अन्य आयोजनाहरुको बजेट खर्च हुन नसकेको बताइएको छ । विकास निमार्णका आयोजनाको भुक्तानी असारको अन्तिमसम्म हुने भए पनि सबै निकासा हुने संभावना नदेखिएको कार्यालयले जनाएको छ । काम भएको प्रमाण र बिल आदिका आधारमा कोष तथा लेखा नियन्त्रण कार्यालयले भुक्तानी दिने गरको छ ।

लामो समयदेखि चर्चामा रहेको खुटिया–विपिनगर–दिपायल दु्रत मार्गको लागि छुट्टयाइएको बजेट यस वर्ष पनि फ्रिज हुने भएको छ । अघिल्लो सरकारका भौतिक योजना तथा यातायात व्यवस्थामन्त्री रमेश लेखकले खुटिया–दिपायल सडकलाई प्राथमिकतामा राखेको बताउँदै बजेट फ्रिज हुन नदिने गरि काम भईरहेको बताए पनि सो सडकको २५ प्रतिशतमात्र बजेट खर्च भएको छ ।

यस्तै तत्कालिन मन्त्री लेखकले निकै तामझामका साथ उद्घाटन गरेको धनगढी मोहना पुल–अत्तरिया ६ लेन सडकको ठूलो बजेट खर्च हुन सकेन । मोहना–अत्तरिया ६ लेन सडकको १ करोड बजेटमध्ये ८ लाख ४९ हजारमात्र खर्च भएको छ ।

राष्ट्रिय गौरवको आयोजना रानि–जमरा–कुलरिया सिंचाई आयोजनाको प्रगति भने राम्रो रहेको बताइएको छ । जेठ मै ९९ प्रतिशतसम्म खर्च पुगेको उक्त आयोजनाका लागि ७० करोड थप बजेट निकासा भएको थियो । थपेको बजेटको खर्च ८५ प्रतिशत रहेको छ ।

कमेन्ट गर्नुहोस्