खानेपानीमा भेटियो दिसामा पाइने जिवाणु

नुवाकोट, असार २५ । नुवाकोटका विभिन्न स्थानहरुमा त्यहाँका बासिन्दाले उपभोग गर्दै आएको खानेपानीमा मानव स्वास्थ्यका लागि अत्यधिक हानिकारक कोलिफर्म (दिशामा पाइने जिवाणु) भेटिएको छ ।

शनिबार बिदुरमा आयोजना गरेको ‘महामारी रोग र स्वास्थ्य सेवा’ विषयक अन्तक्रियामा स्वास्थ्य कार्यालय नुवाकोटका स्वास्थ्य निरीक्षक राममणि घिमिरेले जिल्लाको मुख्य छ स्थानबाट लिएको नमूना परीक्षणमा सबै स्थानको पानीको मुहानमा कोलिफर्म भेटिएको जानकारी दिए ।

वर्षायाम सुरु भएसँगै पानीमा हुनसक्ने दूषित अवस्थाको अध्ययन गर्न रातमाटे, विदुर, कोलनी, तुप्चे, गेर्खु र काउलेका बासिन्दाले उपभोग गर्दै आएको मुहानबाट सङ्कलन गरिएको पानीको नमूना परीक्षणमा सबै स्थानमा कोलिफर्मको मात्रा ३० देखि ६० सम्म रहेको बताइएको छ ।

पानीमा कोलिफर्मको मात्रा १० भन्दा बढी पाइएपछि त्यसमा रहेका जीवाणु सक्रिय हुने भएकाले पिउन अयोग्य मानिन्छ ।

उपभोक्ता समितिमार्फत ठूलो समुदायमा वितरण भएको पानीको मुहानबाट लिएको नमूना परीक्षणमा अपेक्षाभन्दा धेरै मात्रामा कोलिफर्म देखिएकाले उपभोक्तालाई ब्लिचिङ पाउडर, पियुसको प्रयोग, ट्याङ्कीको सरसफाइ, पानी उमालेर प्रयोग गर्नेलगायतको पानी स्वच्छ बनाउने विधि प्रयोग गर्न लागाइएको छ ।

पानीमा हुने दूषित र मनसुनको परिवर्तनले महामारी रोगको रुपमा झाडापखाला, टाइफाइड, कमलपित्त ‘जन्डिस’, आँउ, रुघाखोकीलगायतका रोग देखिन सक्ने भएकाले त्यसको नियन्त्रण गर्न स्वास्थ्य कार्यालय तयारी अवस्थामा रहेको निरीक्षक घिमिरे जानकारी दिए ।

कमेन्ट गर्नुहोस्