स्थानीय तहको बजेट आज आउँदै

काठमाडौँ,  असार २५ । स्थानीय तह निर्वाचन सम्पन्न भएका अधिकांश स्थानीय तहले आज पहिलो स्थानीय बजेट सार्वजनिक गर्ने भएका छन् ।

स्थानीय तहहरुले वर्षभरि हुने खर्च, वित्तीय व्यवस्थापन, स्थानीय राजस्व तथा सरकारले दिने आम्दानीका स्रोतसहितको बजेट सार्वजनिक गर्ने भएका छन्। यसअघि नै मन्त्रालयले असार ३० गतेसम्म बजेट सार्वजनिक गरीसक्नुपर्ने निर्देशिका जारी गरेपछि जनप्रतिनिधि छनोट भएका स्थानीय तहले स्थानीय व्यवस्थापिका गाउँ र नगर सभामा पेश गर्दैछन् ।

यसरी गाउँ र नगर सभामा पेश भएको बजेट असार मसान्तसम्म पास गरिसक्नु पर्ने प्रावधान छ । निर्वाचन नभएका स्थानीय तहमा भने अन्तरिम खाका पेश हुने संघीय मामिला तथा स्थानीय विकासमन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले जनाएका छन् ।

यसरी हुन्छ बजेट प्रस्तुत
संसदमा जस्तै सथानीय तहले गाउँसभा या नगरसभामार्फत वर्षभरीको अनुमानित बजेट तयार गरिन्छ । यसरी तयार गरेको बजेट स्थानीय तहको प्रमुख वा उपप्रमुख अथवा सदस्यले सभामा पढेर सुनाउनेछन् । बजेट बनाउँदा आम्दानी, खर्च, स्थानीय स्तरमा हुने राजश्व संकलन, वित्तिय व्यवस्थापन लगायतका विषयलाई समेट्न पाउनेछन् । यस्तै सडक, विजुली, खानेपानी लगायतका विषय र बजेटमा सरकारले दिने आम्दानीका श्रोत पनि समेट्नुपर्नेछ ।

यस्तो छ मन्त्रिपरिषदको आदेश
मन्त्रिपरिषदको गत जेठ १७ को निर्णय अनुसार संविधानको धारा ३०२ को उपधारा १ बमोजिम यस्तो आदेश जारी गरेको हो । आदेशमा स्थानीय तहको कार्यसञ्चालन र सेवा प्रवाह, गाउँ कार्यपालिकाको उपाध्यक्ष वा नगरपालिकाकाको उपप्रमुख, वडाअध्यक्ष र सदस्यहरुको काम कर्तव्य र अधिकार, प्रशासन तथा कर्मचारीको व्यवस्था, आर्थिक प्रशासन, योजना तथा आयोजना सञ्चालन एवं व्यवस्थापन,कर तथा राजश्व, सम्पति हस्तान्तरण, सहजीकरण तथा समन्वयलगायतका अधिकार प्रत्यायोजन गरिएका छन् ।

कमेन्ट गर्नुहोस्