महिलाको पेटबाट झिकियो ३५ किलोको ट्युमर

काठमाडौ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जको चिकित्सक टोलीले एक महिलाको पेटमा रहेको ३५ किलोको ट्युमरलाई झिकेका छन् । उनीहरुले निकालेको यो ट्युमर संसारकै सबैभन्दा ठूलो भएको दावी चिकित्सकले गरेका छन् ।

ट्युमरका कारण जीवन मरणको दोसाँधमा परेकी रामेछाप गोठगाउँकी ४२ वर्षीया दिलमाया सार्कीको शल्यक्रिया गरी उक्त ट्युमर झिकीएको हो ।

विगत ७ बर्षदेखि पेट बढ्दै गएको र पछिल्लो एक बर्ष यता तिव्रगतिमा पेट बढ्न थाले पनि दलित परिवारले आर्थिक अभावको कारण उपचार गर्न सकेको थिएन । गत साता त्रिवि शिक्षण अस्पतालमा आएकी उनको अहिले भने निस्शुल्क रुपमा उपचार भएको छ ।

दुई साताअघि अस्पतालका सर्जन डा.विकल्प घिमिरे नेतृत्वको २४ जना चिकित्सकको टोलीले ६ घन्टा लगाएर ट्युमर झिकेको थियो । दिलमाया स्वस्थ हुँदै गएपछि अस्पतालले शुक्रबार त्यसबारे पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

त्रिवि शिक्षण अस्पतालका बरिष्ठ प्याथोलोजिष्ट डा. अभिमन्यु झाका अनुसार पाठेघरको दाँया भागमा पलाएको ट्युमरले पाठेघर सहित डिम्वासय, डिम्बाबाहिनी नली लगायतका सबै भागलाई थिचेको थियो ।

सोही कारण चिकित्सकहरुले ट्युमरसहित पाठेघर डिम्बासय तथा डिम्बाबाहिनी नली समेत झिकिदिएको छ जुन झिक्न नमिल्ने अवस्थामा रहेको थियो । पेटबाट ट्युमर हटेपछि आफूलाई सहज भएको दिलमायाले बताएकी छिन् ।

कमेन्ट गर्नुहोस्