हाम्रा पार्टीका मन्त्रीहरु नै मुर्ख हुन् : रामचन्द्र पौडेल

पोखरा, असार २५ । सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नै पार्टीका मन्त्रीहरुलाई ‘मूर्ख’को संज्ञा दिएका छन् । प्रजातन्त्र सेनानी स्वर्गीय नवराज कुँवरको १३ औं पुण्यतिथिका अवसरमा आइतवार पोखरामा आयोजित श्रद्धाञ्जलीसभामा बोल्दै नेता पौडेलले आफ्ना पार्टीका मन्त्रीहरुलाई मर्ख भएको बताएका छन् ।

पूर्व उपप्रधानमन्त्री समेत रहेका पौडेलले अरु पार्टीका मन्त्रीहरुले प्रस्तावित स्थानीय निकायको खाकालाई आफ्नो पार्टी कार्यालयमा पु¥याएर छलफल गराएको तर आफ्ना पार्टीका मन्त्रीहरुले आफ्नै पार्टीका विरुद्ध ल्याइएको स्थानीय निकायको खाकालाई गुपचुप सही छाप गरेको आरोप लगाएका छन् ।

सिंहदरबारको अधिकार घर–घरमा पुगेको राजनीतिक दलहरुको दाबी आइरहेका बेला नेता पौडेलेले भने संघीयताविरोधी अभिव्यक्ति दिँदै काठमाडौं बाहेक अरु स्थानीय तहलाई महानगरपालिका घोषणा गर्नु नै गलत भएको बताएका छन् ।
उनले पोखरालाई किन महानगरपालिका घोषणा गरिएको भन्दै पोखरा र चितवनलाई महानगरपालिका घोषणा गर्न मापदण्ड नै नपुगेको टिप्पणी गरेका छन् । नेता पौडेलले भने, ‘जिल्ला सदरमुकामलाई त विकास गर्न सकिएको छैन। एउटै जिल्लाका ८–१० ठाउँलाई सदरमुकाम बनाएर के गरी विकास गर्न सकिन्छ ?’

वृद्धवृद्धालाई वृद्धभत्ता दिने एमालेको निर्णय जनमुखी भएकोतर्फ इङ्गित गर्दै नेता पौडेलले आफूहरुले गाउँघरमा बाटोघाटो बनाएर जनताको १०/ २० वर्ष आयु थपेको दाबी गरे ।

पोखराको प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका रहेका स्वर्गीय नवराज कुँवर नेपाली कांग्रेस समर्थित मजदूर संगठन ट्रेड यूनियन कांग्रेसका वरिष्ठ उपाध्यक्ष एवं प्रथम चरणमा सम्पन्न स्थानीय तहको चुनावमा पोखरा लेखनाथ महानगरपालिकामा कांग्रेसका तर्फबाट उम्मेदवार रहेका रामजी कुँवरका पिता हुन् ।

कमेन्ट गर्नुहोस्