भरतपुरमा च्यातिएका मतपत्रबारे आज पनि सुनुवाई नहुने

काठमाडौं असार २६ । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ मा मतपत्र च्यातिएपछि पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथिको सुनुवाई आज पनि स्थगित भएको छ । न्यायाधीशद्वय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको इजलासले आजका लागि तोकिएको सुनुवाई समय अभावको कारण देखाउँदै स्थगित गरेको हो ।

अर्को सुनुवाईको मिति आज दिउ“सोसम्म टुङ्गो लाग्ने सर्वोच्च अदालत श्रोतले जनाएको छ । सुनुवाई पटक पटक सरेपछि भरतपुर महानगरपालिकाको मतपरिणाम अन्यौलमा परेको छ ।

गत बैशाख ३१ गते भएको निर्वाचनको मतगणनाका क्रममा माओवादी केन्द्रका प्रतिनिधिले ९० वटा मतपत्र च्यातेपछि भरतपुर महानगरपालिकाको मतगणना स्थगित भएको हो ।

निर्वाचन आयोगले आवश्यक अनुसन्धान र प्राप्त प्रमाणका आधारमा पुनः मतदान गर्ने निर्णय गरेपछि वडा नम्बर १९ का एमालेका वडा सदस्य उम्मेद्वार गुञ्जमान विक र अधिवक्ता तुलसीराम पाण्डेले च्यातिएका मतपत्र बदर गरी बाँकी मत गणना गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

सर्वोच्चले गत असार ६ गते च्यातिएका मतपत्र, निर्वाचन आयोगको निर्णय, भरतपुरस्थित मूख्य निर्वाचन कार्यालयको प्रतिवेदन, प्रहरी रिपोर्ट लगायत मगाएको थियो । सम्पूर्ण कागजपत्रको अध्ययन र सम्बन्धित पक्षको बहसपछि भरतपुर महानगरको वडा नम्बर १९ मा पुनः मतदान गर्ने वा मतगणनालाई निरन्तरता दिने भन्नेबारे गत शुक्रबारपनि समय अभाव भन्दै आजको लागि सारिएको थियो ।

कमेन्ट गर्नुहोस्