अब तपाईको गुनासो सिधै गृहमन्त्रीको कानमा

काठमाडौं, असार २६ । जनताको गुनासो अब सिधै गृहमन्त्री को कानमा पुग्ने भएको छ । सोमबार गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले मन्त्रालयमा गुनासो कक्षको उद्घाटन गरेका छन् ।

मन्त्रालयमा स्थापना गरिएको गुनासो ब्यवस्थापन कक्षमा गृहमन्त्री शर्माले जुम्लाका जया महतको टेलिफोन रिसीभ गरेर उनका गुनासो सुनी ब्यवस्थापन कक्षको उद्घाटन गरेका छन् ।

महतले गन्त्रालयको गुनासो कक्षमा रहेको टोल फ्रि नम्बर १११२ मा गरेको फोन गृहमन्त्री शर्माले रिसिभ गरेका थिए । महतले जुम्लाका सरकारी कार्यालयहरुको गाडी दुरुपयोग भएको, सामग्री खरिदका गर्दा प्रक्रिया मिचेर भ्रष्टाचार हुने गरेको र स्थानीय निकायमा कर्मचारी समायोजना गर्दा सिनीयरलाई जुनियरको मातहत राखिएकोलगायतका गुनासाहरु गरेका थिए ।

महतको गुनासो संवोधनका लागि गृहमन्त्री शर्माले तत्काल जुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण सापकोटालाई टेलिफोन गरेर छानविन गर्न निर्देशन दिएका छन् ।

मन्त्रालयले सोमबारदेखि गृह मन्त्रालय वा अन्तर्गतका निकायको बारेमा कुनै गुनासो वा जानकारी भएमा तत्काल संवोधन गर्नेगरी गुनासो ब्यवस्थापन कक्ष स्थापना गरेको छ । गुनासो कक्षमा रहेको टोल फ्रि नम्बर १११२ मा फोन गरेर अथवा gunaso@moha.gov.np मा इमेल गरेर गुनासो पठाउन सकिने छ । त्यस्तै मन्त्रालयको ट्विटर अकाउन्ट @mohagunaso मार्फत पनी गुनासो गर्न सकिने छ ।

कमेन्ट गर्नुहोस्