बढ्दै माेटा महिलाहरु र निम्तिँदैछ खतरा !

डा.सुमनराज ताम्राकार

मोटोपना आजको विश्वको जल्दोबल्दो स्वास्थ्य समस्या हो । जङ्क फुड, फास्ट फुड, मानसिक तनाव, ढिलो विवाह, व्यायामको कमी, सौखिन बानी आदि तथा तुलनात्मक रूपमा पोषिलो खानाको कारणले पनि यो समस्या चुलिन थालेको हो । विकसित तथा विकासोन्मुख मुलुकमा पनि मोटोपनाको समस्या बढ्दो छ । दक्षिण एसियाली देशमा पनि मोटोपन जटिल समस्या बन्दै गएको छ ।

हालै गरिएको एक अध्ययन अनुसार गर्भवती जाँचका लागि आएका ५ महिलामध्ये एकमा मोटोपनको समस्या पाइयो । मोटोपनाको सर्वमान्य परिभाषा अनुसार यदि शरीरको तौल तथा उचाईको हिसाब गर्दा ३० किलोग्राम (किग्रा) प्रति वर्गमिटरभन्दा बढी भएको बुझिन्छ । वैज्ञानिक भाषामा यसलाई बडी मास इन्डेक्स (बीएमआई) भनिन्छ । शारीरिक तौलको मात्र कुरा गर्ने हो भने गर्भवती महिलाको तौल ९० किलोग्राम भन्दा बढी भएमा त्यसलाई अत्याधिक मान्नुपर्दछ ।

बीएमआईको आधारमा शारीरिक तौलको वर्गीकरण

बीएमआई (किग्रा प्रति वर्गमिटर)

१८.५ भन्दा कम कुपोषण

१८.५ देखि २४.९ सामान्य

२५ देखि २९.९ बढी तौल

३० भन्दा बढी मोटोपना

मुटुको समस्या भात्र नभई शारीरिक तौललाई सन्तुलित राख्न सकेको खण्डमा मधुमेह, उच्च रक्तचाप, युरिक एसिड, कोलस्टेरोल, नशा, आँखा, मृगौलाको समस्या जस्ता थुप्रै खाले नसर्ने प्रकारका रोगहरूबाट बच्न सकिन्छ । मोटोपना आजको विश्वको जल्दोबल्दो स्वास्थ्य समस्या हो ।

मोटोपनका कारण

कम व्यायाम र स्थीर दैनिकी मोटोपनको मुख्य कारण हुन् भने असन्तुलित भोजन तथा मानसिक तनावका साथै गभावस्थामा छँदादेखि नवजात शिशु अवस्थाको मोटोपना पछि गएर युवावस्था तथा प्रौढ अवस्था पुग्दा पनि रहिरहन्छ । यसैगरी सानै उमेरदेखि फास्टफुड, जंक फुड, गुलिया खानाको सेवनलगायत अभिभावकको करकापले बढ्ता खाने बच्चामा पनि मोटोपनाको समस्या भएको पाइन्छ ।

खाना सेवन तथा शरीरमा उसको खपतबीच सन्तुलन मिलेन भने मोटोपना देखिनेमा दुई मत छैन तर मद्यपानसँगै तारिेएका, भुटेका, बोसोयुक्त तथा जंक एवं फास्टफुड स्न्याक अथवा एप्पेटाइजरका रूपमा खाने बानी भएकाले मद्यपानबाट पनि मोटोपनाको समस्या उब्जिन्छ । आजकालको चल्तिको मःम, चाउमिन, फ्राइड फुडलगायत फास्टफुडका कारण सजिलै मोटोपना विकसित हुन्छ ।

त्यसमाथि रिमोट कन्ट्रोल समाई टेलिभिजन सेट अगाडि थ्याच्च बसेर खाना खाने बानीका साथै दिनभरि भोकै बस्नै अनि बिहान बेलुका चाहिँ एकैपटक खाने बानी भएर पनि पछिल्लो समयमा नेपालमा पनि मोटोपनको समस्या देखिन थालको छ । त्यसमाथि गहुँको रोटी, मकैको परिकार तथा सागसब्जीलाई त हाम्रो खाने मेनुबाट निकै अगाडि हटाइसक्यौं ।

जे होस् सामान्य बीएमआई भएकामा मधुमेह लाग्दैन । सुगर पनि नियन्त्रणमा आउँछ । रक्तचाप पनि नियन्त्रणमा आउँछ । मुटुका रोग तथा पक्षघातका समस्याबाट बचिन्छ । कोलेस्टेरोलका मात्रालाई नियन्त्रणमा ल्याउँछ । महिलामा पाठेघर, स्तन तथा पुरुषमा प्रोस्टेट जस्ता कतिपय क्यान्सर लाग्दैन । समग्रमा सन्तलित तौलले आयु बढ्नुका साथै वास्तविक उमेर भन्दा जवान देखिन पनि मद्दत गर्दछ ।

गर्भावस्थामा मोटोपनाको असर

मोटोपना सन्तान उत्पादनका लागि बाधक हो । मोटोपना अर्थात् उच्च बीएमआई र निःसन्तानबीच गहिरो सम्बन्ध छ । प्रायः मोटोपना हुने महिलाको महिनावारी गडबडी हुन्छ । यस्तो परिस्थितिमा गर्भ बस्न समस्या हुन्छ । मोटोपनाको कारणले महिना गडबडी हुने र गर्भ तुहिने समस्या तीन गुणाले बढ्छ । मोटोपना भएकी महिलामा गर्भे शिशुको बसाई पनि उल्टो वा छड्के हुनसक्छ । मोटोपनाको कारण शारीरिक जाँचबाट गर्भे शिशुको गलत अवस्थिति पत्ता लगाउन पनि गाह्रो हुन्छ ।

मोटोपनाका कारण गर्भवती महिलामा कतिपय मेडिकल समस्याहरू देखा पर्दछन् । गर्भावस्थामा हुने उच्च रक्तचाप, निःसन्तान दुईदेखि तीन गुणाले बढ्छ । मोटोपना नभएकी महिलामा मधुमेहको सम्भावना केवल १ देखि ३ प्रतिशत हुन्छ भने मोटोपना भएकीमा बढीमा १७ प्रतिशतसम्म हुनसक्छ । मोटोपना भएकी गर्भवती महिलामा मुत्रनली संक्रमण, योनीद्वारबाट सेतो पानी बग्ने समस्या, काछ तथा काखी पाक्ने समस्या एवं घाउ खटिरा आइराख्ने हुन्छ । मोटोपना भएकी गर्भवती महिलामा घुर्ने, स्वाँ स्वाँ हुने तथा सास फेर्न गाह्रो हुने हुनसक्छ । त्यसैगरी यस्ता महिलामा रक्तनलीमा रगत जम्ने समस्या पनि हुनसक्छ ।

मोटोपना भएकी महिलामा सुत्केरी ताका आउने समस्या

मोटोपना भएकी गर्भवती महिलामा समय नपुग्दै सुत्केरी व्यथा लाग्न सक्छ । पेट ठूलो, गर्भे शिशु ठूलो, साल ठूलो, बच्चा वरिपरि पानी धेरै भएका कारण पनि चाँडै व्यथा लाग्छ । सुत्केरी व्यथा पनि लामो हुनसक्छ । मोटोपना भएकी गर्भवती महिलाको गर्भे शिशु पनि ठूलै हुन्छ । र, सुत्केरी व्यथाको क्रममा योनीद्वारमा चोट पुग्ने र शिशुको टाउको जन्मिए पनि काँध अड्किने सम्भावना हुन्छ । बढी तौलको गर्भे शिशु, मधुमेह तथा महिना नाघेर पनि यस्तो समस्या उब्जिएको हुनसक्छ । मोटोपनाको कारण सिजेरियन अपरेशन गरेर बच्चा पाउनु पर्ने सम्भावना कम्तिमा २ गुणाले बढ्छ ९१० बाट २० प्रतिशतभन्दा बढी० ।

मोटोपना भएकी महिलामा सुत्केरी पश्चात्को समस्या

सुत्केरी पश्चात् अत्याधिक रक्तश्राव हुने खतरा हुन्छ । यो समस्या ४४ प्रतिशतसम्म हुन्छ । साल ठूलो भएर, पाठेघर खुम्च्याउने हर्मोन नपुगेर, लामो तथा कठिनाई पूर्ण सुत्केरीका कारण पनि अधिक रक्तश्राव हुने हुन्छ । यस्ता महिलामा स्तनपान सुरु गर्न तथा स्तनपानको समयावधिको समस्या हुनसक्छ । स्त्री जननेन्द्रियमा संक्रमण बढ्ने, रक्त विकार देखा पर्ने तथा अन्य मेडिकल समस्याहरू पनि देखा पर्दछन् ।

मोटोपनाको कारण गर्भे शिशुमा पनि विभिन्न समस्या देखा पर्न सक्छन् । यस्ती महिलाकी गर्भे शिशुको तौल पनि बढी हुन्छ । यस्तो शिशु पछि गएर युवावस्था तथा प्रौढ अवस्था पुग्दा पनि बढी मोटो हुन्छ । यसैगरी स्नायु सम्बन्धी जन्मजात समस्या पनि देखा पर्न सक्छ । यसैकारण नवजात शिशुको मृत्युदर दुई गुणा बढ्छ ९५ देखि ७ प्रति हजार० । अक्सिजन तथा सुगरको कमी भएर गर्भ भित्रै शिशुको मृत्यु हुने सम्भावना पनि निकै बढी हुन्छ ।

मोटोपनाको व्यवस्थापन

लिफ्टको सट्टा भर्याङ चढ्ने, मुटुको चाल २५ प्रतिशतले बढ्ने गरी छिटो छिटो हिँड्ने, नाँच्ने, घरको सरसरफाई अनि लुगा धुने, करेसाबारीमा काममा सक्रिय तवरले लाग्ने, साईकल चढ्ने गर्नुपर्दछ । यदि कोलस्टेरोल कम गर्ने अनि सुगर नियन्त्रणमा ल्याउने हो भने कम्तिमा एक घण्टा जतिको व्यायाम चाहिन्छ । सुस्त गतिको मर्निङ वाक अनि त्यस लगत्तैको अधिक चिल्लोयुक्त खानेकुरा सहितको चियापानले पनि फाइदा गर्दैन ।

त्यस्तै खानामा गेडागुडी, सागपात, फलफूललाई पनि उत्तिकै स्थान दिनुपर्दछ । तारिएका, भुटेका खाना कम एवं फलफूल र सागपातमा बढी खानुपर्दछ । टुसाएको तथा रेसादार खानामा बल गर्नु पर्दछ ।

कमेन्ट गर्नुहोस्