७ नं.को राजधानी धनगढी बनाउने उपमहानगर प्रमुख वडको पहिलो निर्णय

लोकेश धामी
कैलाली, असार २६ । धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले धनगढीलाई प्रदेश नम्बर ७ को राजधानी बनाउन पहल गर्ने बताएका छन् ।

७ नम्बर प्रदेशको राजधानी बनाउन प्रतिवद्ध भएर लाग्ने बताए । यस्तै पदभार ग्रहण लगत्तै बसेको बैठकले पाँचवटा निर्णय गरेको छ । खोला नाला अतिक्रमण, सरकारी, ऐलानी, प्रति जग्गा अतिक्रमण हटाउने, धनगढीलाई ७ नम्बर प्रदेशको राजधानी बनाउने, आर्थिक अवस्था कमजोर भएका समुदायका विद्यार्थीलाई छात्रवृति उपलब्ध गराउने, धनगढीलाई स्वच्छ र सफा बनाउनुका साथै भ्रंष्टाचार अन्त्यका लागि शुन्य सशनशिलताको नीति अपनाईने र उप–महानगरमा रहेका प्रत्येक घरको नम्बरिङ गरि नगरको प्रोफाईल तयार गर्ने छन् ।

मेयर वडले अनुमोदन गरेको निर्णयलाई उपमहानगरपालिका कार्यकारी अधिकृत पुरुषोत्तम शर्माले पढेर सुनाए ।

पद तथा गोपनीयताको शपथग्रहण
धनगढी उपमहानगरपालिकाका नवनिवार्चित प्रमुख, उपप्रमुख र वडा अध्यक्षहरुले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।

धनगढी स्थित जिल्ला समन्वय समितिको सभाहलमा भएको प्रमाणपत्र वितरण एवम् शपथग्रहण समारोहमा प्रमुख पदमा निर्वाचित नृपबहादुर वड, उपप्रमुख सुशीला मिश्र भट्ट र १९ वटै वडाका वडा अध्यक्षले शपथग्रहण गरेका हुन् ।

प्रमुख उपप्रमुख लगायत १९ वटै वडाका अध्यक्षको मुख्य निर्वाचन अधिकृत तथा न्यायाधीश धनसिंह महराले पद तथा गोपनीयताको शपथग्रहण गराए ।

त्यस्तै धनगढी उपमहानगर प्रमुख वडले धनगढीका १९ वटै वडाका निर्वाचित सदस्यहरुलाई सपथ ग्रहण गराए । उपमहानगर प्रमुख वडले निर्वाचन अघि जनतालाई दिएका प्रतिवद्धता पूरा गर्ने बताए ।

सपथ ग्रहण लगत्तै कार्यक्रममा बोल्दै प्रमुख वडले विश्वासकासाथ आफूलाई प्रमुख पदमा विजयी गराएकाले त्यो विश्वासको सदूपयोग गर्ने बताए ।

यस्तै सपथग्रहण कार्यक्रममा बोल्दै कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले शान्तीपूर्ण तरिकाले निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।

विभिन्न क्षेत्रबाट निर्वाचन सम्पन्न गर्न सहयोग पुगेकाले जनताको दुइ दशक देखिको सपना पूरा भएको मुख्य निर्वाचन अधिकृत धनसिंह महराले बताए ।

कमेन्ट गर्नुहोस्