दार्चुलामा महाकाली नदीको तटबन्ध भासिदाँ बाढीको त्रास,

दार्चुला, असार २६ । लगातारको वर्षाका कारण महाकाली नदीको जलस्तर र जलप्रवाह बढेपछि नदीमा निर्माणाधीन तटबन्ध भत्कन थालेको छ।

चार वर्ष अगाडि आएको बाढीले बगाएको खलंगा बजारको रिङनताल रहेकै क्षेत्रमा अहिले महाकालीले तटबन्ध भत्काउन सुरु गरेको हो। १२ वटा क्षेत्रमा तटबन्ध निर्माण कार्य जारी थियो । रिङ्नताल क्षेत्रमा रहेको प्याकेज नम्बर १० मा राखिएको ‘ग्रेभेटी रिटेनिङ वाल’ भासिएर भत्किएको छ ।

यसरी तटबन्धभासिने क्रम जारी रहेमा र महाकाली नदीको बहाव बढ्दै गएमा दार्चुला सदरमुकाम खलंगा बजार खतरामा पर्ने भन्दै स्थानीय त्रासमा छन् ।

‘तटबन्ध निर्माण हुन थालेपछि महाकालीमा पानीको बहाव जति बढेपनि सुरक्षित हुने आशमा रहेका खलंगाबासी तटबन्ध नै भासिन थालेपछि पुनः ०७० सालको बाढीको स्मरण गरिरहेका बताएका छन् । २०७० साल साउन २ गते आएको महाकाली बाढीले सदरमुकाम खलंगामा ठूलो जनधनको क्षति भएको थियो ।

बाढीले कुरुप बनाएको जिल्ला सदरमुकामको रिङनताल क्षेत्रमा यसपालिको बाढीले पनि तटबन्ध भत्काउन सुरु गरेपछि स्थानीय त्रसित भएका हुन् । उक्त वाल महाकालीले बगाउने होे भने पुनः समस्या सिर्जना गर्नसक्ने महाकाली नदी नियन्त्रण आयोजनाका प्रमुख सुशीलप्रसाद देवकोटाले बताए ।

कमेन्ट गर्नुहोस्