उपत्यकाका सडकको काम ठप्प, कहाँ र किँन रोकिए निर्माण ?

काठमाडौं, असार २९ ।  काठमाडौं उपत्यकालाई सफा, स्वच्छ र फराकिलो बनाउने उद्देश्यसहित विस्तार गरिएका अधिकांश सडक आयोजना बीचमै रोकिएका छन् । अदालतको आदेश र घरधनीको अवरोधपछि धेरै सडकका काम अघि बढ्न सकेका छैनन् ।

काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका इन्जिनियर तथा सूचना अधिकृत विश्वविजयलाल श्रेष्ठले आठ ठूला सडक विस्तार आयोजनाका काम ठप्प बनेको बताए ।

‘अहिले अधिकांश सडकको विस्तार कार्य करिब–करिब रोकिन पुगेका छन् । कुनैमा सर्वोच्च अदालतको स्टे अर्डर छ, केहीमा सडक मिचेर घर बनाएका घरधनीलेभत्काउन दिएका छैनन्,’ उनले भने ।,नयाँ पत्रिकामा खबर छ ।

कहाँ–कहाँका सडक निर्माण रोकिए ?

काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका अनुसार अदालत र घरधनीको अवरोधपछि त्रिपुरेश्वर–कलंकी–नागढुंगा (१२.५ किमि), चाबहिल–जोरपाटी–साँखु (११.५ किमि), ढोलाहिटी–सुनाकोठी–चापागाउँ (७.२ किमि), इमाडोल–सिद्धिपुर–गोदावरी (३ किमि), कर्मनासा खोला–हरिसिद्धि (४ किमि), लगनखेल–सातदोबाटो (०.८ किमि), भैँसेपाटी–नख्खु खोला (३.५ किमि) र जोरपाटी–सुन्दरीजल (७ किमि) सडकखण्डको विस्तार कार्य ठप्प छ ।

कुन सडकको निर्माण कहाँ पुग्यो ?

आयोजनाले चार अर्ब ६७ करोड लागतमा डेढ वर्षअघि आठवटा सडकखण्ड विस्तार कार्य सुरु गरेको थियो । ठेक्का सम्झौताअनुसार अधिकांश सडक आयोजनाको विस्तार ०७४ असोजदेखि पुस मसान्तसम्ममा सकिनुपर्ने हो । तर, कार्यप्रगति ३० प्रतिशत पनि छैन ।

त्रिपुरेश्वर–कलंकी–नागढुंगा

१२.५ किमि त्रिपुरेश्वर–कलंकी–नागढुंगा सडकखण्डको ठेक्का सम्झौता ०७२ असारमा भएको हो । सेड्युलअनुसार काम भए सो सडकको निर्माण कार्य ०७४ को कात्तिकसम्म सकिनुपर्ने हो । तर, अहिलेसम्म ३५ प्रतिशत मात्रै काम सम्पन्न भएको छ । सडकको बजेट एक अर्ब ५३ करोड रुपैयाँ छ ।

चाबहिल–जोरपाटी–साँखु

यो सडकखण्डको ठेक्का सम्झौता ०७२ असोजमा भएको हो । ०७४ माघसम्म सकिनुपर्ने चाबहिल–जोरपाटी–साँखु सडक निर्माण कार्य हालसम्म ३० प्रतिशत सकिएको छ । सो सडकखण्डको बजेट एक अर्ब ४७ करोड रुपैयाँ रहेको छ ।

ढोलाहिटी–सुनाकोठी–चापागाउँ 

ललितपुरको ढोलाहिटी–सुनाकोठी–चापागाउँ सडकखण्डमा १० प्रतिशत मात्रै काम भएको छ । ७.२ किमि दूरीको यो सडकखण्ड निर्माणका लागि एक वर्षअघि ठेक्का सम्झौता गरिएको थियो । ५० करोड बजेटको यो सडक निर्माण ०७५ असारमा सक्ने भनिएको छ । तर, सडक मिचेर घर बनाएका घरधनीले निरन्तर अवरोध गरेपछि सडकको सबै काम अहिले अवरुद्ध छ ।

इमाडोल–सिद्धिपुर–गोदावरी

तीन किलोमिटर इमाडोल–सिद्धिपुर–गोदावरी सडकखण्डको ठेक्का सम्झौता ०७३ असारमा भएको हो । २४ महिनाभित्र सक्ने योजनाका साथ निर्माण थालिएको उक्त सडकको काम १५ प्रतिशत मात्रै पूरा भएको छ । सर्वोच्च अदालतमा मुद्दा परेपछि सडक विस्तारको काम अवरुद्ध हुन पुगेको हो । सो सडकखण्डको बजेट २३ करोड ५० लाख छ ।

कर्मनासा खोला–हरिसिद्धि

ललितपुरको कर्मनासा खोला–हरिसिद्धि, लगनखेल–सातदोबाटो र भैँसेपाटी–नख्खुखोला सडकखण्डको ठेक्का सम्झौता पनि ०७३ असारमै भएको हो । काम सुरु भएको वर्ष दिन बितिसक्दा पनि तीनवटै सडकखण्डमा अहिलेसम्म १० प्रतिशत मात्र काम हुन सकेको छ । सर्वोच्च अदालतको स्टे अर्डर र घरधनीको अवरोधपछि ती सडकखण्डमा काम रोकिएको हो । निर्माणाधीन सडकखण्डको बजेट करिब ४० करोड रुपैयाँ छ ।

जोरपाटी–सुन्दरीजल

सात किलोमिटर लामो जोरपाटी–सुन्दरीजल सडकखण्डमा अहिलेसम्म कामै सुरु हुन सकेको छैन । ०७३ असारमा ठेक्का सम्झौता गरिएको सो सडकखण्डमा घरधनीको अवरोध भएपछि विस्तारको काम रोकिएको हो । सो सडकखण्डको बजेट ५५ करोड रुपैयाँ छ ।

कमेन्ट गर्नुहोस्