१६२ स्थानीय तह, जहाँ बैंक जान चाहँदैनन्

काठमाडौं, असार २९ । देशका १ सय ६२ स्थानीय तहमा शाखा खोल्न वाणिज्य बैंकहरू अनिच्छुक देखिएका छन् । पूर्वाधार अभावको कारण देखाउँदै बैंकहरू ४९ जिल्लाका एक नगरपालिका र १ सय ६१ गाउँपालिकामा शाखा खोल्न तयार नभएका हुन् ।

७ सय ४४ स्थानीय तहमध्ये हालसम्म ३ सय ३२ मा मात्रै ‘क’ वर्गका बैंक पुगेका छन् । त्यसमध्ये २ सय ५० तहमा बैंकका शाखा खोल्न वाणिज्य बैंकहरू तयार देखिएका छन् ।

किन जान चाहँदैनन् बैंक ?

पूर्वाधार, सुरक्षा र जनशक्ति अभावका कारण बैंकलाई विकट स्थानीय तहमा शाखा खोल्न समस्या रहेको बैंकरले जनाएका छन् । बैंकका शाखा खोल्न सडक, विद्युत्, इन्टरनेटलगायत पूर्वाधार चाहिन्छ । सयभन्दा बढी स्थानीय तहमा आवश्यक पूर्वाधार छैनन् ।

त्यस्तै, सबै तहमा सुरक्षा निकायको उपस्थितिसमेत भइसकेको छैन । बैंकहरूलाई तत्काल जनशक्तिको पनि अभाव रहेको नेपाल बैंकर एसोसिएसनका अध्यक्ष अनिलकेशरी शाहले बताए । ‘पूर्वाधार, सुरक्षा र जनशक्ति अभावका कारण सबै तहमा बैंकका शाखा खोल्न गाह्रो छ,’ उनले भने, ‘सरकार र राष्ट्र बैंकको पूर्ण सहयोग र अनुदानविना त्यस्ता ठाउँमा शाखा पुर्‍याउन सकिँदैन ।’

राष्ट्र बैंकले बैंकरहरूलाई कुन–कुन स्थानीय तहमा कुन–कुन बैंकका शाखा खोल्ने भन्नेबारे सहमति गरेर प्रस्ताव गर्न निर्देशन दिएको थियो । त्यसअनुसार उनीहरूले २५० स्थानीय तहमा शाखा खोल्नप्रस्ताव गरेका छन् । तर, १६१ तहमा जानलाई उनीहरू अझै तयार छैनन् । राष्ट्र बैंकले स्थानीय तहमा बैंकका शाखा पुर्‍याउन मौद्रिक नीतिमार्फत सुविधा तथा सहुलियत घोषणा गरेको छ । अब थप छलफल गरेर सबै स्थानीय तहमा बैंकका शाखा पुर्‍याइने राष्ट्र बैंकले जनाएको छ ।

कमेन्ट गर्नुहोस्