चर्चामा मुख्यसचिव क्षत्रीः उर्जामा राधा ज्ञवालीले २६ करोड महँगोमा ठेक्का दिँदा गरेका थिए बिरोध

काठमाडौं, राजनीतिक र कर्मचारी वृत्तमा राजेन्द्र किशोर क्षत्री चर्चामा छन् । सरकारका मुख्य सचिव सोमलाल सुवेदीले काज विदा लिएर एशियाली विकास बैंकमा जागिर खान गएपछि सरकारले क्षत्रीलाई मुख्य सचिवमा बढुवा गरेको हो ।

त्यसो त क्षत्री सुवेदीपछि मुख्य सचिवको चर्चामा थिएनन् । तर सरकारले यसअघि उपराष्ट्रपतिको कार्यालय, उर्जा मन्त्रालय र सहरी विकास मन्त्रालयमा सचिवको रुपमा काम गरिसकेका र हाल गरिबी निवारण तथा सहकारी मन्त्रालयका सचिव क्षत्रीलाई नै मुख्य सचिवमा बढुवा गरेपछि उनीबारे चर्चा शुरु भएको हो ।

एमालेबाट राधा ज्ञवाली उर्जा मन्त्री हुँदा भने क्षत्री चर्चामा थिए । उर्जामन्त्री ज्ञवाली र क्षत्रीबीच त्यतिखेर विवाद उत्पन्न भएको कुरा सार्वजकि भएको थियो । ज्ञवालीलाई सोलु कोरिडोरको प्रसारण लाइन ठेक्का प्रकरणमा अनुचित कार्य गरेको आरोपमा अख्तियारले समेत कार्वाही प्रक्रिया अगाडि बढाएको थियो । त्यतिखेर २६ करोड महंगो प्रस्ताव गर्ने मोहन इनर्जीलाई ठेक्का दिन तम्सिएपछि तत्कालिन सचिव तथा सञ्चालक समितिका सदस्य समेत रहेका राजेन्द्र किशोर क्षेत्रीले असहमति व्यक्त गरेका थिए ।

को हुन क्षत्री ?

क्षत्री शाखा अधिकृतबाट सचिव बनेका हुन । शुरुमा उनले कानुन समूहबाट निजामति सेवामा प्रवेश गरेका थिए ।

२०४१ सालमा कानुनको शाखा अधिकृतबाट सरकारी सेवा सुरु गरेका क्षत्री २०४९ मा उपसचिव भएका थिए। २०५६ मा सहसचिव भएका उनको २०६९ साउनमा सचिवमा बढुवा भएको थियो। सुरुमा कानुन आयोगका सचिव बनेका क्षत्री पछि ऊर्जा मन्त्रालय, उपराष्ट्रपति कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग हुँदै सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सचिव भएका थिए।
गोरखाको लिगलिगमा पुर्ख्यौली भएका क्षत्री अचेल काठमाडौं कलंकीमा बस्छन्।

क्षत्रीले बेल्जियमको ब्रसेल्स विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय कानुनमा स्नातकोत्तर गरेका छन भने पूर्वाधार, विकास प्रशासन, ऊर्जा र जलस्रोतमा उनको विशेषज्ञता रहेको छ ।

कमेन्ट गर्नुहोस्