प्रदेश नम्बर २ मा माओवादीले देखेको जित्ने आधार

काठमाडौं , असार ३० । नेकपा माओवादी केन्द्रले तेस्रोत चरणको निर्वाचनबारे रणनीति तय गर्न २ साउनमा केन्द्रीय सचिवालय बैठक डाकेको छ ।

बैठकमा पहिलो र दोस्रो चरणको निर्वाचन समीक्षा, आगामी निर्वाचनको रणनीति र सांगठनिक संरचनाबारे छलफल हुनेछ । बैठकपछि पार्टीको सबै शक्ति प्रदेश नम्बर २ मा केन्द्रित गर्ने माओवादीले जनाएको छ । ‘अहिले केन्द्रीय सचिवालय बैठकको तयारी लागेका छौँ,’ प्रवक्ता पम्फा भुसालले भनिन्, ‘बैठकपछि मात्र उम्मेदवार छनोट हुन्छ र प्रदेश नम्बर २ मा निर्वाचनका गतिविधि बढाउँछौँ ।’

निर्वाचनका लागि अध्यक्ष प्रचण्डसहितका केन्द्रीय नेताहरू २ नम्बर प्रदेशमा जाने तयारीमा छन् । प्रदेश नम्बर २ का इन्चार्ज मातृका यादवले निर्वाचन लक्षित गरेर साउन दोस्रो सातादेखि मधेसमा प्रशिक्षण चलाउने तय भएको बताए ।

पार्टीको सबै शक्ति लगाए प्रदेश नम्बर २ मा पहिलो वा दोस्रो शक्ति हुने माओवादीको अपेक्षा छ । ‘हामीले उम्मेदवार उठाउँदा सामाजिक सम्बन्ध राम्रो भएको र जित्ने सम्भावना भएकालाई प्राथमिकतामा राख्छौँ,’ नेता मणी थापाले भने, ‘पार्टीमा योगदान गरेको, परिवर्तनका लागि लडेको र समाजमा राम्रो छवि भएकालाई उच्च प्राथमिकता दिन्छौँ ।’

माओवादीले देखेको जित्ने आधार

निर्वाचनमा माओवादीले तराई मधेसमा जित्ने बलियो आधार धेरै भएको प्रवक्ता भुसालले तर्क गरिन् ।

रामबहादुर थापा समूहलगायत अन्य साना समूहसँग पार्टी एकतापछि मधेसमा पार्टी बलियो भएको माओवादी नेताहरूको विश्लेषण छ । मधेसका हरेक मुद्दामा माओवादीको सद्भाव भएकाले मधेसी जनता आफ्नो पक्षमा आउने नेता यादवको तर्क छ । ‘हामीले अहिले पनि संविधान संशोधन सकेसम्म पास गराउने पक्षमा लागी रहेका छौँ,’ थापाले भने, ‘संविधान संशोधन पास वा फेल जे–जस्तो भए पनि अगाडि बढाएरै छाड्ने योजना छ ।’

 

 

 

 

कमेन्ट गर्नुहोस्